महाराष्ट्र रेल दुर्घटनामा मृत्यु हुने १३ मध्ये तीन नेपाली भएको पुष्टि
नयाँ दिल्ली । महाराष्ट्रमा रेल दुर्घटनाहुँदा तीन नेपाली सहित १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। तीन नेपालीसहित ७ जना मृतकको सनाखत भइसकेको समाचारमा जनाइएको छ। अन्य ६जनाको भने सनाखत हुन बाँकी रहेको जनाइएको छ।
उक्त दुर्घटनामा नेपालका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी, ४३ वर्षीया कमला नवीन भण्डारीको मृत्यु भएको पुष्टि भएको जनाइएको छ। उनीहरु नेपालका कुन ठाउँका हुन् भन्ने जानकारी आएको छैन।
रेल लखनउबाट मुम्बई जाँदै गरेको थियो । रेलको कुनै डिब्बामा आगो लागेको सूचना फैलिएपछि उक्त रेल रोकिन पुगेको थियो। रेलमा भएका यात्रुहरु ओर्लेर भागदौड गर्दा अर्को लिकमा आइरहेको अर्काे रेलले किचेर उनीहरूको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फढणवीसले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले घाइतेहरूको उद्धार र स्वास्थ्य उपचारका निम्ति सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
क्याटेगोरी : समाचार
प्रतिक्रिया