रविविरुद्ध उच्च र जिल्लाका गरी ८ जना सरकारी वकिलहरुले बहस गर्दै
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सुप्रिम सहकारी ठगीको मुद्दामा आज रुपन्देहीमा बहस जारी छ ।
रुपन्देहीको जिल्लाका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा थुनछेक बहस भइरहेको छ । यसअघि बुधबार उनैको इजलासमा बयान सकिएपछि बिहीबारबाट थुनछेक बहस सुरु गरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका ५ जना र उच्च सरकारी वकिल कार्यालय बुटवलका ३ जना वकिलले बहस गरिरहेका छन् ।
सरकारी वकिलको बहसपछि जाहेरवालाको तर्फबाट बहस हुनेछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारी बहसका लागि अदालत पुगिसकेका छन् ।
यसअघि उनीहरूले पोखराको सूर्यदर्शन सहकारी र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा पनि जाहेरवालाको तर्फबाट बहस गरेका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले काठमाडौंको जिल्ला अदालतमा जाहेरवालाको तर्फबाट बहस गरेर बाहिर निस्कदा उनी रास्वपाका समर्थकबाट कुटपिटमा समेत परेका थिए ।
आज जाहेरवालाको तर्फबाट पनि बहस सकिए शुक्रबार रविको तर्फबाट बहस हुनेछ । त्यसपछि सरकारी वकिल र जाहेरवालाको तर्फबाट जवाफी बहस भएपछि शुक्रबार नै आदेश आउने सम्भावना छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया