अमेरिकामा जन्मेका आधारमा नागरिकता पाउने व्यवस्था हटाउने ट्रम्पको आदेशमा अस्थायी रोक
काठमाडौं । अमेरिकी भूमिमा जन्मेका शिशुहरू स्वतः त्यहाँको नागरिक हुने व्यवस्था अन्त्य गर्ने गरी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको कार्यकारी आदेशमा सिआटलका एक सङ्घीय न्यायाधीशले अस्थायी रोक लगाइदिएका छन् ।
यु.एस. डिस्ट्रिक्ट कोर्टका न्यायाधीश जोन कफ्नरले उक्त आदेश ‘स्पष्ट रूपले असंवैधानिक’ रहेको बताउँदै दुई साताका लागि त्यो कार्यान्वयन गर्नमा तत्काल रोक लगाएका छन् ।
उक्त निर्णय फेब्रुअरी १९ देखि जन्मिने शिशुहरूका हकमा लागु हुने अमेरिकी न्याय मन्त्रालयले पेस गरेको कानुनी दस्ताबेजमा उल्लेख थियो ।
ट्रम्पको प्रशासनले अदालतको उक्त निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएको छ ।
बिहीवार २५ मिनेट लामो सुनुवाइपछि उक्त आदेश कार्यान्वयन गर्न अन्तरिम रोकको आदेश दिइएको थियो ।
यसको अर्थ अबको १४ दिन थप कानुनी प्रक्रियाहरू रोकिनेछन् ।
चार अमेरिकी राज्यहरू वाशिङ्टन, एरिजोना, इलिनोई र ओरिगनले उक्त मुद्दा अघि सार्दै जन्मका आधारमा नागरिकता प्राप्त गर्ने हक संवैधानिक रहेको र राष्ट्रपतिसँग संविधान संशोधन गर्ने अधिकार नभएको बताएका थिए ।
उनीहरूले उक्त आदेश कार्यान्वयन भएमा आफ्ना राज्यहरूले ‘तत्काल र अपूरणीय क्षति बेहोर्ने’ तर्क गरेका थिए ।
न्याय मन्त्रालयले ती राज्यहरूले अघि सारेका मुद्दाले अस्थायी रोक लगाउने कुनै अभूतपूर्व कदम चाल्न आवश्यक नरहेको तर्क गरे तापनि न्यायाधीश त्यसमा असहमत भए ।
कागजातबिना अमेरिकामा रहेका आप्रवासी र विदेशी आगन्तुकबाट जन्मिएका शिशुले पाउने नागरिकताको अधिकार अन्त्य गर्ने ट्रम्पको प्रयासविरुद्ध त्यहाँ अन्य कैयौँ मुद्दाहरू समेत परेका छन् ।
अमेरिकी भूमिमा जन्मने सबै जनाले स्वतः त्यहाँको नागरिकता पाउने व्यवस्था अमेरिकी संविधानमा सुरुमा थिएन । तर गृहयुद्ध अन्त्य भएपछि स्वतन्त्र पारिएका, अमेरिकामा जन्मिएका ‘पूर्वदास’हरूलाई सम्बोधन गर्ने गरी सन् १८६८ मा यस व्यवस्था थपिएको थियो । अमेरिकी संविधानको १४ औँ संशोधनमा यो विषय समावेश छ ।
बहसका क्रममा न्यायाधीश कफ्नरले ट्रम्प प्रशासनका एक वकिललाई कार्यकारी आदेशको मस्यौदा बनिरहँदा ‘वकिलहरू कहाँ थिए’ भनेर सोधेका थिए ।
यो आदेश संवैधानिक भएको उनको दाबीका लागि आलोचना गर्दै न्यायाधीशले सचेत गराए ।
‘यसले मेरो दिमागमा अन्योल सिर्जना गर्छ,’ ती न्यायाधीशले भने ।
ह्वाइट हाउस फर्किएयता चरणबद्ध रूपमा एकतर्फी आदेशहरू दिइरहेका ट्रम्पले लामो समयदेखि यस्तो परिवर्तन गर्ने बताउँदै आएका थिए ।
खबरहरूका अनुसार ट्रम्प प्रशासनले उक्त आदेश कार्यान्वयन गर्ने क्रममा अयोग्य हुने भनिएकाको राहदानीजस्ता कागजातहरू रोक्का गर्ने योजना बनाएको थियो । तर न्यायाधीशले ती सबै खाले कार्यान्वयनका उपायमा अस्थायी रोक लगाउन भनेका छन् ।
वाशिङ्टन राज्यका तर्फबाट बहस गरेका एक वकिलले ट्रम्पको उक्त आदेशले देशलाई ‘देशको एउटा अँध्यारो अध्यायमा फिर्ता पुर्याउने’ तर्क गरेका थिए ।
ती राज्यहरूको मुद्दासम्बन्धी दस्ताबेजमा अमेरिकामा सन् २०२२ मा मात्र कागजात नभएका आमाहरूबाट २ लाख ५५ हजार बालबालिकाहरू जन्मिएको उल्लेख गरिएको छ ।
स्रोतः बीबीसी
क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति
प्रतिक्रिया