नोबेल अस्पतालमा क्यान्सर उपचारको नयाँ प्रविधि
काठमाडौं । रेडियोथेरापीको उपकरण एज‘ईडीजीई’ नेपालमै पहिलोपटक नोबेल अस्पतालले भित्र्याएको छ । अमेरिकामा निर्मित भेरियन कम्पनीको रेडिएसन थेरापीको यो उपकरण ५५ करोडमा खरिद गरी नेपाल भित्र्याएको नोबेलका संचालक तथा मोरङ–३ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद डा. सुनिल शर्माले जानकारी दिएका छन् ।
क्यान्सर उपचारका लागि रेडिएसन थेरापीसहितको यो प्रविधि नेपालमै नोवेल अस्पतालमा जडान भएपछि धेरै नेपालीहरुलाई उपचारको लागि विदेशिनुपर्ने बाध्यता अन्त्य हुने विश्वास अस्पताल प्रशासनले लिएको छ ।
डा शर्माका अनुसार दक्षिण एसियामा यो प्रविधि भित्र्याउने नोबेल नवौं अस्पताल हो । भारतका अस्पतालमध्ये मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा एउटा, म्याक्स अस्पतालमा तीन वटा, नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा २ गरी ६ वटा मात्र जडान गरिएको छ ।
नेपालमै पहिलो पटक यो उपकरण जडान भएसँगै अब आम नागरिकलाई क्यान्सर उपचारमा थप सहज हुनेछ ।
डा. शर्माले ३ अर्ब ४० करोड रुपैयाँ लगानी गरेर नयाँ भवन, अत्याधुनिक प्रविधिसहित दक्ष जनशक्तिको व्यवस्था गरी नेपालमै क्यान्सरको सहज उपचार सेवाको सुरुआत गरेका छन् ।
यस उपकरणमा रहेको ६ डी काउच, हाइपर आर्क, एचडी एम आईसी, एसआर एस र एसबी आरटीले शल्यक्रियाबिना नै क्यान्सर सेललाई निर्मुल गर्ने दाबी गरिएको छ ।
आईजी आरटी, आईएम आरटी, भीएम एटीजस्ता प्रविधिले सामान्य सेललाई क्षति नगरी केवल क्यान्सर सेललाई मात्र लक्षित गर्ने क्षमता राख्छ । ब्राकी थेरापीले बिना दुखाई उपकरणको सहायताले शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने दाबी गरिएको छ । ४ डी आरटीसीटी नामक सिटी स्क्यान मेसिनले रेडिएसन थेरापीलाई थप प्रभावकारी बनाउँछ ।
नोबेल अस्पतालले गत असोजदेखि क्यान्सरको उपचार सेवा दिन थालेको हो । नोबेलले हाल सयभन्दा बढी क्यान्सरका बिरामीको उपचार गरिरहेको छ ।
नोबेल मेडिकल कलेजले नेपाल सरकारको विपन्न नागरिक औषधी उपचार कोषअन्तर्गत क्यान्सर रोगीलाई उपचार सेवा प्रदान गर्दै आएको छ । यसले विशेषगरी पूर्वी नेपालका आर्थिक रूपमा कमजोर रोगीलाई राहत दिएको छ । विपन्न नागरिक औषधी उपचार कोषअन्तर्गतको सेवा प्रदान गर्न नोबेलमा रहेको सामाजिक सेवा इकाईले सहजीकरण गर्ने गर्दछ ।
क्याटेगोरी : विज्ञान, समाचार
प्रतिक्रिया