टरिगाँउ विमानस्थलको स्तरवृद्धिका लागि पहल गर्छु : प्रचण्ड
घोराही, ११ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङको तुलसीपुरमा रहेको टरिगाँउ विमानस्थलको स्तरवृद्धिका लागि पहल गर्ने बताएका छन् ।
तुलसीपुर उद्योग वाणिज्य सङ्घले शुक्रबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री दाहालले लामो समयदेखि स्तरवृद्धि हुन नसकेको विमानस्थलको विस्तारका लागि पहल गर्ने बताए ।
राजनीतिक खिचातानीका कारण लामो समयदेखि स्तरवृद्धि गर्ने कुरा उठे पनि हुन नसकेको भन्दै प्रचण्डले भने , ‘दाङसहित राप्ती क्षेत्रका लागि टरिगाउँ विमानस्थलको स्तरवृद्धि हुन आवश्यक छ । यहाँबाट नियमित रुपमा हवाई सेवा सञ्चालनका लागि म पहल गर्नेछु ।’ प्रदेश राजधानी भएको ठाउँको विकासका लागि पनि टरिगाँउ विमानस्थलको विस्तार हुन आवश्यक रहेको बताएका हुन् ।
टरिगाँउ विमानस्थलको स्तरवृद्धिका सन्दर्भमा अहिले सबै राजनीतिक दलको एजेण्डा मिल्दै गएकाले २०११ सालमा स्थापना भएको विमानस्थलको विकास र विस्तार अब कसैले रोकेर नरोकिने उनले बताएका थिए । उनले विमानस्थलले स्तरवृद्धिले दाङसहित समग्र राप्ती क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पनि बताए ।
टरिगाउँ विमानस्थलको स्तरवृद्धिसँगै नियमित हवाई सेवाका लागि तुलसीपुर उद्योग बाणिज्य सङ्घले नियमित रुपमा पहल गर्दै आएको छ । दाङमा आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटीको तेस्रो अधिवेशनको उद्घाटन तथा खबरदारीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया