पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीद्वारा देशव्यापी आन्दोलनको चेतावनी
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक दल पाकिस्तान तेहरीक–ए–इन्साफ ( पीटीआर्ई) खैबर–पख्तुनख्वा शाखाका अध्यक्ष जुनैद अकबरले पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) नेतृत्वको गठबन्धन सरकार विरुद्ध राष्ट्रव्यापी आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।
एक स्थानीय टिभी च्यानलसँगको कुराकानीमा अकबरले सरकारसँग वार्ता गर्न विपक्षीको तत्परतालाई कमजोरीको रूपमा हेरिएको बताउँदै पीएमएल–एन नेतृत्वको गठबन्धन सरकारसँग मङ्गलबार भएको चौथो चरणको वार्तामा पीटीआई सहभागी नभएपछि उनले यस्तो टिप्पणी गरेका हुन् । सरकारको वार्ता समितिको मङ्गलबारको बैठक पीटीआईका प्रतिनिधिहरु बैठकमा उपस्थित नभएपछि स्थगित भएको थियो । पाकिस्तानको राष्ट्रिय सभाका सभामुख अयाज सादिकले सहभागिताको कमीका बाबजुद समिति यथावत रहने बताए ।
पीटीआई र सरकारबीच पहिलो चरणको वार्ता २३ डिसेम्बर २०२४ मा भएको थियो । गत डिसेम्बरमा वार्ता सुरु भएयता दुवै पक्षबीच तीन पटक भेटवार्ता भइसकेको छ । पीटीआई र पीएमएल–एन नेतृत्वको सरकारबीच गत वर्षको डिसेम्बरमा पाकिस्तानमा राजनीतिक तनाव कम गर्न वार्ता सुरु भएको थियो । तर सन् २०२३ मे ९ मा इस्लामावादमा भएको प्रदर्शन र सन् २०२४ नोभेम्बर २६ मा इस्लामावादमा भएको प्रदर्शनको छानबिनका लागि सरकारले न्यायिक आयोग गठन नगरेको आरोप लगाएपछि वार्ता रोकिएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया