अमेरिकी चिप प्रतिबन्धका बाबजुद डिपसिक एआईले ल्याएको तरङ्ग
बेइजिङ । अमेरिकाले चिपमा लगाएको प्रतिबन्धका बाबजुद चिनियाँ कम्पनी डिपसिक एआईले ल्याएको तरङ्गबारे विभिन्न किसिमको चर्चा हुन थालेको छ ।
उच्च–प्रविधि चिपहरूमा अमेरिकी निर्यात नियन्त्रणले अनजानमै स्टार्टअप डिपसिकको एआई च्याटबटको सफलतालाई बल पु-याएको कतिपयको भनाइ रहेको छ ।
एआईमा विश्वव्यापी प्रभुत्वका लागि चीनलाई रोक्न वासिङटनले केही गर्न नसक्ने डरले भारतको अर्थतन्त्र बराबर अमेरिकी शेयर बजार ओरालो लागेको छ ।
पूर्वी चिनियाँ शहर हाङझोउमा रहेको यस कम्पनीले आफ्नो आर१ प्रोग्रामले लगानीकर्ता र उद्योग विशेषज्ञहरूलाई चकित पारेको छ । यसले अमेरिकी प्रतिस्पर्धीहरूसँग देखिने गरी कम लागतमा प्रतिस्पर्धा गर्नसक्छ ।
यो एआई विकास गर्न प्रयोग गरिने विशाल लर्निङ (सिकाइ) मोडेलहरूलाई सञ्चालन गर्न आवश्यक उन्नत चिपहरूमा चिनियाँ कम्पनीहरूको पहुँचलाई रोक्ने कडा अमेरिकी नियमका बाबजुद भएको हो । डिपसिकका संस्थापक लियाङ वेनफेङले ‘उच्च–स्तरीय चिपहरूमा प्रतिबन्ध’ यसको काममा ठूलो बाधा साबित भएको स्वीकार गरेका छन् ।
कम्पनीले आफ्नो ठूलो लर्निङ मोडेल सञ्चालन गर्न कम–उन्नत एच८०० चिपहरू प्रयोग गरेको बताएको छ । यी चिपहरू सन् २०२३ को अन्त्यसम्म चीनलाई निर्यात गर्न अनुमति दिइएको थियो ।
जर्ज वासिङ्टन विश्वविद्यालयका जेफ्री डिङले भने अनुसार डिपसिकको सफलताले अन्य देशलाई अग्रणी मोडेलहरू विकास गर्नबाट रोक्न अमेरिकी निर्यात नियन्त्रणहरू अप्रभावकारी छन् भन्ने देखाएको छ ।
डिपसिक यस तरिकाले नवप्रवर्तन गर्न बाध्य भएको पहिलो चिनियाँ कम्पनी होइन । प्रविधि क्षेत्रको दिग्गज कम्पनी हुवावेले अमेरिकी प्रतिबन्धहरूलाई सम्बोधन गर्न आफ्नो व्यवसाय पुनः व्यवस्थित गरेको छ । हालका वर्षहरूमा नाफामा फर्किएको छ । तर सिलिकन भ्याली र वासिङटनमा यस्तो आतङ्क फैलाउने यो पहिलो कम्पनी हो ।
पूँजीपति मार्क एन्ड्रिसनले यसलाई पूर्व सोभियत संघको बेला स्पुतनिकले ल्याएको तरङ्गको समयको रूपमा जनाएका छन् । स्पुतनिक संयुक्त राज्य अमेरिका र यसको प्रमुख भू–राजनीतिक प्रतिद्वन्द्वीबीचको विशाल प्रविधि अन्तरलाई उजागर गर्ने सोभियत उपग्रह प्रक्षेपणको सन्दर्भ हो ।
वर्षौंसम्म धेरैले एआईमा अमेरिकी वर्चस्व स्वाभाविक मानेका थिए । यो क्षेत्र ओपनएआई र फेसबुक–मूल कम्पनी मेटा जस्ता ठूला सिलिकन भ्याली नामहरूको प्रभुत्वमा थियो । चीनले लाखौँ लगानी गरेको र सन् २०३० सम्म एआई प्रविधिमा विश्व नेता बन्ने प्रतिबद्धता जनाए पनि यसका प्रयासहरू प्रशान्तभरि चिन्ता बढाउन पर्याप्त थिएनन् । प्रविधि दिग्गज बाइडुको अर्नी बट सार्वजनिक हुँदा च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्ने प्रयास प्रभावशाली हुन सकेको थिएन । यसले ठूला प्रविधि कम्पनीहरूका लागि बेइजिङको कडा नियामक वातावरणले कुनै वास्तविक नवप्रवर्तनलाई रोक्नेछ भन्ने धेरैको विचारलाई पुष्टि गरेजस्तो देखियो ।
डिपसिकको मोडेलले लागत कटौती र दक्षतामा जोड दिएको छ भने एआईप्रतिको अमेरिकी नीति लामो समयदेखि मापनको अनुमानमा आधारित छ ।
तर डिपसिकको आर१ च्याटबटको सफलताले नवप्रवर्तन धेरै सस्तोमा आउन सक्छ भन्ने सुझाव दिन्छ । डिपसिकका विकासकर्ताहरूले मात्र ५६ लाख डलरमा निर्माण गरिएको दाबी गरेका छन् । केहीले सावधानी अपनाउन आग्रह गर्छन् र कम्पनीका लागत–बचत उपायहरू यति नवीन नहुन सक्छ भनेर जोड दिन्छन् ।
ट्रम्पले डिपसिकलाई सिलिकन भ्यालीका लागि एक ‘जागरण आह्वान’ का रूपमा वर्णन गरेका छन् र उनीहरू ‘जित्नका लागि प्रतिस्पर्धामा लेजर–केन्द्रित’ हुन आवश्यक छ भनेका छन् ।
पूर्व अमेरिकी प्रतिनिधि मार्क केनेडीले डिपसिकको सफलताले ‘अगाडि बढ्ने निर्यात नियन्त्रणको प्रभावकारितालाई कमजोर पार्दैन’ भने । उनले वासिङ्टनले ‘एआई चिपहरूमा प्रतिबन्ध विस्तार’ र चिनियाँ कम्पनीहरूले कुन प्रविधिमा पहुँच पाउन सक्छन् भन्ने बारेमा बढी निगरानी गरेर अर्को कदम चाल्न सक्ने बताए ।
तर, विल्सन सेन्टरको वाहबा इन्स्टिच्युट फर स्ट्राटेजिक कम्पिटिशनका निर्देशक बनेका केनेडीले यसले आफ्नै उद्योगलाई बलियो बनाउन पनि सक्ने बताए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान
प्रतिक्रिया