शिक्षक सेवा आयोगमा दुई सदस्य पदका लागि ३१ जनाको आवेदन
काठमाडौँ, १७ माघ । शिक्षक सेवा आयोगका दुई सदस्य पदमा नियुक्तिका लागि ३१ जनाको आवेदन परेको छ । आयोगमा हाल एक सदस्य पद रिक्त छ भने अर्का एक जना सदस्यको पद रिक्त हुँदै छ ।
सदस्य पदमा नियुक्तिका लागि लोक सेवा आयोगका अध्यक्ष संयोजक रहेको छनोट समितिले आवेदन आह्वान गरेको थियो । समिति सदस्यमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बराल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दीपक काफ्ले सदस्य छन् ।
समितिले सार्वजनिक गरेको अन्तिम विवरण अनुसार आवेदन दिनेमा पूर्वसहसचिव केशवप्रसाद दाहाल, डा. भोजराज काफ्ले, रामशरण सापकोटा, युवराज सुवेदी, हिरामणि शर्मा, थानेश्वर गौतम, नवराज सापकोटा, दीपक खनालले निवेदन दिएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका पूर्वसदस्यसचिव दुर्गा अर्याल, बोर्डकै पूर्वउपसचिव डा. रामचन्द्र पाण्डेले पनि आयोगको सदस्यका लागि आवेदन दिएका छन्। यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वउपसचिव सुकदेव सापकोटा, अर्जुन रायमाझी, टङ्कप्रसाद गौतम, खेमनाथ पोखरेललगायतले पनि आवेदन दिएका छन् । यसबाहेक आवेदन दिने अन्य व्यक्तिमा सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक पनि छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया