Techie IT
Samayabaddha
शुक्रबार, १८ माघ, २०८१

हमास समूहको नियन्त्रणबाट पाँचजना थाई र तीनजना इजरायली नागरिक मुक्त, विपिन जोशी पनि छुट्ने आशा


काठमाडौं, १८ माघ । प्यालेस्टाइनको गाजास्थित हमास समूहको नियन्त्रणबाट तेस्रो समूहअन्तर्गत बिहीबार साँझ पाँचजना थाई र तीनजना इजरायली नागरिक मुक्त भएका छन् । अन्तर्राष्ट्रिय रेडक्रसको रोहवरमा हमास समूहले उनीहरूलाई मुक्त गरेको समाचार संस्था अलजजिराले समाचारमा उल्लेख गरेको छ । हमास समूहको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी अझै मुक्त भएका छैनन् ।

इजरायली सेनालाई उद्धृत गर्दै अलजजिराले प्रकाशन गरेको समाचारअनुसार हमासको नियन्त्रणबाट तीनजना इजायली (दुई महिला र एक पुरुष) र पाँचजना थाई नागरिक मुक्त भएका छन् । इजरायलले पनि बिहीबार साँझ ११० जना बन्दीलाई जेलमुक्त गरेको छ, जसमा ३० जना बालबालिका छन् । इजरायल र प्यालेस्टिनी हमास समूहबिच ३ माघमा भएको युद्धविराम सम्झौताअनुसार हमास समूहले ६ साताभित्र उसको नियन्त्रणमा रहेका ३३ जनालाई नियन्त्रणमुक्त गर्नुपर्नेछ । यसलाई पहिलो चरण भनिएको छ । यो चरणमा इजरायली नागरिक मात्रै नियन्त्रणमुक्त हुने भनिएकोमा बिहीबार पाँचजना थाई नागरिकसमेत मुक्त भएपछि नेपाली विपिन पनि छिट्टै मुक्त हुने अपेक्षा छ ।

इजरायल र प्यालेस्टाइनको सम्झौताअनुसार पहिलो चरणअन्तर्गत बिहीबारसम्म तीन समूहमा हमासले उसको नियन्त्रणमा रहेकालाई मुक्त गरेको छ । १९ जनवरीमा तीनजना, २५ जनवरीमा चारजना र बिहीबार आठजना गरी १५ जनालाई मुक्त गरिसकेको छ । ‘अब चौथो समूहलाई मुक्त गर्दा विपिन जोशी पनि पर्ने अपेक्षा छ, तर हामीलाई यथार्थ जानकारी आएको छैन,’ परराष्ट्रका एक अधिकारीले भने, ‘इजरायल सरकारले विपिन जोशी जीवित छन् र छिट्टै मुक्त हुन्छन् भन्ने विश्वास छ भन्ने जवाफ दिएको छ । त्यसलाई हामीले आधिकारिक मानेका छौँ र हामी विपिनमुक्त हुने प्रतीक्षामा छौँ ।’

१९ जनवरीदेखि लागू हुने गरी ६ साता अर्थात् फेब्रुअरीभित्र हमासले ३३ जनालाई मुक्त गर्ने प्रतिबद्धता जनाएको छ । त्यतिन्जेल इजरायलको जेलमा रहेका करिब दुई हजार प्यालेस्टिनी नागरिक पनि मुक्त हुनेछन् । इजरायलका सञ्चारमाध्यमका अनुसार २० असोज ०८० पछि हमास समूहको नियन्त्रणमा २५१ जना रहेकोमा ३४ जनाको मृत्यु भएको छ । उनीहरूको नियन्त्रणमा ३१ जना विदेशी नागरिक छन् । यीमध्ये विपिनसहित विदेशी नागरिक जीवित रहेको इजरायली कूटनीतिक अधिकारीले नेपाली कूटनीतिक अधिकारीलाई जानकारी दिएका छन् । इजरायली क्षेत्रमा हमासले गरेको आक्रमणका क्रममा २० असोज ०८० मा त्यहाँ अध्ययनरत विपिन जोशीसमेत नियन्त्रणमा परेका थिए । आक्रमणबाट अन्य १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । उक्त घटनामा हमासले २५१ जनालाई बन्धक बनाएर लगेको थियो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट