Techie IT
Samayabaddha
शुक्रबार, १८ माघ, २०८१

कचनकवल : होचो ठाउँको उँचो सम्भावना !


सगरमाथा अग्लिएर मात्र विश्वभर नाम कमाएको होइन, अरु स्थान होचिएका कारण पनि उस्को चुचुरोको बखान भएको हो । नेपालमा अग्ला टाकुराहरू थुप्रै छन् तर होचो ठाउँ एउटा मात्र छ, झापाको कचनकवल ।

कचनकवल होचो छ तर यस्को चर्चा मुलुकभर चुल्याउन आवश्वक छ । कचनकवल झापाको दक्षिणी भूभागमा अवस्थित छ । यहाँ बिर्तामोड देखि भद्रपुर, बनियानी हुँदै सहजै चार वा दुई पांग्रे सवारी साधनमा पुग्न सकिन्छ ।

नेपालकै होंचो स्थानमा भएको यस गाउँपालिकाको सिमाना पूर्वमा भारत, पश्चिममा बाह्रदाशी गाउँपालिका र भारत, उत्तरमा हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिका छ । मनसुनी हावा पानी (अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ ) पाइन्छ । तापक्रम ः गृष्मऋतु ३६ डिग्री से. सम्म हुन्छ भने शीतकालमा औसत न्युनतम तापक्रम १० डिग्री से.सम्म ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट (मे देखि सेप्टेम्बर) यहाँ सरदर १३८ सेन्टिमिटर सम्म वर्षा हुन्छ ।

छेउछाउमा मुसलमानहरूको पातलो बस्ती छ । यसको उचाई समुद्र सतहबाट मात्र ५८ मिटर छ । कचनकवल गाउँ पालिका–६ अन्तर्गतको उक्त स्थान नेपालकै एक महत्वपूर्ण पर्यटकीय स्थान बन्न सक्ने प्रचुर सम्भावना छ । यसअघि नेपाली कांग्रेस कोशी प्रदेश समितिले ‘कचनकवल–सगरमाथा जागरण अभियान’ सुरु गरेपछि हाल यो स्थान पुनः चर्चामा आएको छ । तर, जागरण अभियानका क्रममा सहभागीहरूले फ्याकेका पानपराग, गुट्खा र चाउचाउका खोल यत्रतत्र छरे पछि ऐतिहासिक र महत्वपूर्ण उक्त स्थानमा घुम्न आउने पर्यटकहरू खिन्न भएका छन् ।

पाँच बिगाहा क्षेत्रफलमा फैलिएको उक्त स्थानमा दैनिक एकसयजनाको अनुपातमा नेपालका विभिन्न जिल्ला सहित भारतबाट समेत पर्यटक आउने गरेका छन् ।

पर्यटकको गुुनासो :
चन्द्रगढीबाट घुम्न आएका पूर्व गाविस सचिव गोपाल मिश्रले जानकारीमूलक बोर्ड राख्नुपर्ने र यसको विकास अति आवश्यक भएको बताए । उनले भने, ‘यो एउटा ऐतिहासिक ठाउँ हो । दिनमा यहाँ दुईसय÷तीनसय जना आउने रहेछन् । तर यसको उचित विकास र प्रचारप्रसार पनि नभएको पाइयो ।’ त्यसैगरि सर्लाही जिल्लाको लालबन्दी देखि आएका अर्का पर्यटक ज्ञानप्रसाद पोख्रेलले नेपालको सबैभन्दा होचो भूभाग भनेर अवलोकन गर्न आएको तर यहाँको अवस्था चाँही त्यती राम्रो नदेखिएको गुनासो गरे । उनले भने, ‘यसको अवस्था दयनीय जस्तो देखियो । यहाँका जनप्रतिनिधीले यसको विकासमा ध्यान नदेखिएको देखियो । कमसेकम एउटा शिला लेख लेखेर यो स्थान समुद्रसतहदेखि यति उचाईंमा छ भनेर जानकारी दिनुपर्ने हो, त्यो पनि रहेनरहेछ ।’ काठमाडौंबाट आइकी अर्की पर्यटक हुमा आचार्य भन्छिन्, ‘हामी चाँही नेपालजस्तो स्वर्गमा जन्मिएका रहेछौं । विदेशीहरूले भए यो ठाउँलाई कस्तो बनाउँथे होलान् !’

खानेपानीको व्यवस्था र चमेनागृह नहुँदा पर्यटकलाई समस्या :
एउटा चमेनागृह र खानेपानीको समेत उचित व्यवस्था नहुँदा आउने पर्यटकहरूलाई निक्कै समस्या भएको छ । चाँडो भन्दा चाँडो एउटा चमेनागृह, फोहोरदानी र स्वच्छ खानेपानीको व्यवस्था गर्न आवश्यक छ ।

शौचालय छ तर पानी छैन :
नजिकै शौचालय बनाइएको छ तर त्यसको नियमित सरसफाइ गरिएको जस्तो देखिँदैन । पानी र साबुनको पनि व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पर्यटकका भनाई छ ।

बनाइएका संरचनाहरू प्रयोगविहीन छन् :
घेराबारभित्र केही संरचना बनाइएका छन् तर तसलाई अहिले नै प्रयोग गर्ने अवस्था छैन । बन्दै गरेका संरचनाहरू अलपत्र छाडिएको छ । त्यसलाई चाँडोभन्दा चाँडो तयार गरेर सञ्चालनमा ल्याउनु आवश्यक छ ।

पालिका अध्यक्षको प्रष्टिकरण :

कालेन्द्र प्रसाद सिंह राजबंशी

अधुरा कामहरू बन्न नसकेको कारण खुलाउँदै कचनकवल गाउँ पालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशी निर्माण कार्य ठप्प हुनाको कारण बताउँदै भन्छन्, ‘कचन कवल स्तम्भ ठेक्का लागिसकेको अवस्था हो । पर्यटन प्रवर्धनका लागि ठेक्का लागेको हो । ठेक्का लागिसकेपछि ठेकेदारले गुणस्तरी काम गरेन । गुणस्तरीय काम नभएपछि अख्तियारमा मुद्धा प-यो । जबसम्म त्यसको फैसला हुँदैन तब सम्म हामीले नयाँ काम गर्न पाउँदैनौं ।’ उनि अगाडि भन्छन्, ‘तत्काल हामीले १ करोड ७५ लाख रुपियाँ प्रवर्धन गर्न छुट्याएका छौं ।’

संरक्षण, प्रवर्धन र प्रचारप्रसारको आवश्यकता :
कचनकवल झापाको मात्र नभएर नेपालकै एक प्रमुख पर्यटक स्थल बन्नसक्ने प्रचुर सम्भावना छ । यसको संरक्षण, प्रवर्धन र प्रचारप्रसारको खाँचो छ । सुलभ चमेनागृह वा बास बस्न चाहनेहरूकालागि सुविधासम्पन्न अतिथीगृह, बालबालिकाका लागि खेल्ने सामग्रीहरू, पिकनिक स्थल लगायतका सुविधाहरू थप्न सके कचनकवलमा छुट्टी मनाउन आउने, घुम्न आउने तथा अनुसन्धानका लागि आउने पर्यटकहरूको संख्यामा अझ वृद्धि हुने कुरामा निश्चिन्त हुन सकिन्छ ।

सबै तस्बीर : लेखक

 


क्याटेगोरी : साहित्य
ट्याग : #Kachan Kawal, #Yogesh Khapangi

प्रतिक्रिया


ताजा अपडेट