माघ १९ अर्थात आजको दिनलाई ‘कालो दिन’का रुपमा स्मरण गरिँदै
काठमाडौं । आज माघ १९ अर्थात् तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासकीय महत्वाकांक्षाले शासन हातमा लिएको दिन । यो दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा ‘कालो दिन’को रुपमा लिने गरिन्छ ।
२०६१ साल माघ १९ गते प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील तुल्याउने भन्दै पूर्वराजा शाहले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएका थिए । पूर्वराजा शाहले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए ।
दरबार हत्याकाण्ड लगत्तै राजा बन्न पुगेका शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराएका थिए ।
संविधान प्रदत नागरिकका मौलिक अधिकार निलम्बन गरी राजा ज्ञानेन्द्रले प्रमुख राजनीतिक दलका नेताहरुलाई पक्राउ गर्दै नजरबन्दमा राखेका थिए । सञ्चारमाध्यमहरुमा समेत सेना खटाएर नियन्त्रण गरिएको थियो ।
ज्ञानेन्द्र शाहको यही कदमले सात राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीबीच दिल्लीमा १२ बुँदे सहमति सम्पन्न भई जनआन्दोलन भयो । अन्ततः २०६२ चैत २४ गते सुरू भई २०६३ बैशाख ११ सम्म चलेको १९ दिने आन्दोलनको बलमा राजा ज्ञानेन्द्र संसद पुनर्स्थापना गर्न बाध्य भए ।
राजा आफैंले पुनर्स्थापना गरेको संसदले राजतन्त्रका सम्पूर्ण अधिकार छिन्दै अन्ततः २०६४ सालमा सम्पन्न संविधानसभाको पहिलो बैठकले मुलुकबाट राजतन्त्रको अन्त्यको घोषणा गर्यो । त्यसपछि संविधानसभामार्फत संविधान बनाएर देश संघीय संरचनाको अभ्यासमा गएको छ ।
संविधानसभाले लिएको निर्णय पालनाका साथ राजा ज्ञानेन्द्रले टेलिभिजन सम्बोधनमार्फत् ‘जनताको नासो जनतालाई नै फिर्ता गरिदिएको’ घोषणा गर्दै नारायणहिटी दरबारबाट बाहिरिएका थिए ।
त्यसैगरी २०१४ सालको माघ १९ मा राजा महेन्द्रले घोषणामा “आजसम्म ठेगान हुन बाँकी रहेका कुरा पनि हामीबाटै ठेगान गर्न बाध्य हुनुपरेकोले” भनी राजा आफैँले बनाएर दिएको संविधानका आधारमा “देशको आमचुनाव अब संसदको गरिनेछ र यसमा दुई सभाको व्यवस्था हुनेछ” भनी संविधानसभाको चुनाउ गराउने लक्ष्य खारेज गरी संसदको चुनाव गर्ने उद्घोष गरियो। यसरी राजा त्रिभुवनले सात सालमा गरेका संविधानसभाको बीजारोपणको सात वर्ष पुग्न सत्र दिन बाँकी छँदै उनकै पुत्र राजा महेन्द्रबाट भ्रूणहरण भयो। नेपालको इतिहासमा यो ‘१९ माघ’ एक कालो दिन थियो । राणाशासनको सट्टा शाही शासन सूत्रपात गर्ने सङ्कल्प यसै दिन भएको थियो।
यसपछि राजाले दिएको सो संविधानले गरेको आमचुनाउ र त्यसको जनादेश पनि संविधानकै धारा ५५ ले निलिदियो। नेपालमा अन्धकार युगको अन्त्य भएन। जनताको विकास, आत्मोन्नति, समृद्धिका लागि जुर्मुराएर उठेको जोशजाँगर त्यसै सेलाएर गयो । जनताको आत्मबल बढ्नुको सट्टा चाकडी, चाप्लुसी, खुशामदी गर्ने, खुट्टा तान्ने प्रवृत्ति बढेर आयो। खेलखालका दिन यथावत् रहे, त्यसयता देखिएको नेपालको दुर्दशा कहालीलाग्दो छ।
चार सालमा स्वतन्त्र भएको छिमेकी देश अहिले महाशक्ति राष्ट्रको दाँजोमा पुग्न लागिसकेको छ। ६ सालमा युद्धले ध्वस्त दक्षिणकोरिया आज दोस्रो जापान बनिरहेछ । सात सालमा स्वतन्त्र नेपाल चाहिँ जस्ताको तस्तै छ । विश्वको स्वतन्त्र राष्ट्रहरूका इतिहास हेरेमा यो दृष्टान्त छर्लङ्ग देखिन्छ– प्रजातान्त्रिक प्रक्रियाबाट अघि बढेका स्वतन्त्र राष्ट्रहरूको नै वर्तमान र भविष्य उज्ज्वल छ। आज पचपन्न वर्षपछि बल्लबल्ल पुनः गर्भाधान भएको संविधानसभाको बीजको यस भ्रुणलाई फेरि पनि तुहिन नदिई हरतरहले जोगाई, जन्माई, बढाई गरेमा मात्र देशको उन्नति, समृद्धि, जनताको जागरण, बौद्धिक विकास पनि सम्भव छ।
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया