Techie IT
Samayabaddha
आईतबार, २० माघ, २०८१

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिको दरखास्त म्याद थपियो


काठमाडौं, २० माघ । काठमाडौं विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिको लागि दरखास्त म्याद थप भएको छ। काठमाडौं विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त आव्हानको लागि म्याद थप गरिएको जनाएको हो।

समितिका अनुसार रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिबाट २०८१/९/१७ मा स्वीकृत ‘काठमाडौं विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१’ बमोजिम दरखास्त आह्वान गरिएकोमा यस खोज तथा सिफारिस समितिबाट २०८१/१०/१७ मा उक्त कार्यविधिमा पहिलो संशोधन गरिएको छ।

‘काठमाडौं विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिस सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१ उल्लिखित प्रावधान बमोजिम इच्छुक तथा योग्य व्यक्तिले ललितपुर जिल्ला, ललितपुर महानगरपालिका, बालकुमारी स्थित काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेनेजमेन्टमा आवश्यक कागजात सहित दरखास्त बुझाउन मूल कार्यविधिको अनुसूची १ बमोजिमको ढाँचामा यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालयमा पेश गर्न सकिने गरी म्याद थप गरिएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ।

समितिका अनुसार बिहान ११ बजे देखि दिनको ४ बजेसम्ममा दरखास्त पेश गर्न सकिनेछ। दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ। पहिलोपटक प्रकाशित सूचना बमोजिम प्राप्त हुन आएका दरखास्तहरू कायमै भएको समितिले जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट