Techie IT
Samayabaddha
आईतबार, २० माघ, २०८१

प्रेस सेन्टरको चेतावनी: विज्ञापन बोर्डको भूमिकामा सुधार नभए आन्दोलन


काठमाडौं । विज्ञापन बोर्डले आफ्नो भूमिका निष्पक्ष बनाउन नसकेमा आन्दोलन गर्ने चेतावनी प्रेस सेन्टर नेपालले दिएको छ । हालै सम्पन्न बैठकमा प्रेस सेन्टरले सञ्चार क्षेत्रमा देखिएका समस्याहरूलाई लिएर सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । बैठकपछि जारी गरिएको १५ बुँदे घोषणापत्रमा विज्ञापन बोर्डको गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै उचित सुधार नभए सशक्त आन्दोलन गर्ने निर्णय लिइएको छ ।

विज्ञापन बोर्डबाट सञ्चारमाध्यमलाई प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापन रकम नियमित उपलब्ध गराउनुपर्ने माग प्रेस सेन्टरले अघि सारेको छ । प्रेस सेन्टरका अनुसार, सरकारी तथा सार्वजनिक संस्थाहरूका विज्ञापनका लागि छुट्याइएको रकम ठूला मिडिया संस्थाहरूलाई मात्र प्राथमिकता दिने तर साना तथा स्वतन्त्र सञ्चारमाध्यमलाई बेवास्ता गर्ने प्रवृत्ति हावी भएको छ ।

प्रेस सेन्टरका एक पदाधिकारीले भने, ‘विज्ञापन बोर्डको भूमिका निष्पक्ष हुनुपर्नेमा ठूला मिडियालाई मात्र केन्द्रित गर्ने गरेको छ, जसले स्वतन्त्र पत्रकारितामाथि गम्भीर असर पुर्‍याइरहेको छ ।’

घोषणापत्रमा विज्ञापन बोर्डले विज्ञापन रकमबाट तीन प्रतिशत कटौती गर्ने निर्णयको कडा विरोध गरिएको छ । प्रेस सेन्टरका केन्द्रीय सदस्यहरूले भने, ‘विज्ञापन बोर्डको नीतिले साना मिडियाको अस्तित्व नै संकटमा पार्ने सम्भावना छ ।’

यदि विज्ञापन बोर्डले आफ्नो नीति सच्याएर निष्पक्ष वितरण प्रणाली लागू नगरे आन्दोलन गर्ने प्रेस सेन्टरले स्पष्ट पारेको छ । एक पदाधिकारी भन्छन, ‘सञ्चार क्षेत्रलाई व्यवस्थित गर्नका लागि पारदर्शी र निष्पक्ष विज्ञापन प्रणाली अवलम्बन गर्नुपर्छ । अन्यथा, विज्ञापन बोर्डविरुद्ध आन्दोलन गर्न हामी बाध्य हुनेछौँ ।’

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट