जुम्लाको तातोपानी गाउँपालिकाका सबै वडाका ३६ गाउँबस्ती सडक सञ्जालमा जोडिए

जुम्ला, ३० माघ । जुम्लाको तातोपानी गाउँपालिकाका सबै वडाका ३६ गाउँबस्ती सडक सञ्जालमा जोडिएका छन् । संघ, प्रदेश र गाउँपालिकाको बजेटबाट थलाले गाउँसम्म सडक निर्माण सम्पन्न भएपछि गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले त्यसको उद्घाटन गरेका थिए ।
स्थानीयको मागअनुसार तीन वर्षको प्रयासपछि गाउँसम्म सडक पुगेको हो । सडकबाट थलालेका ४० घरपरिवार लाभान्वित भएका छन् । सडक निर्माणपछि जिप, ट्रयाक्टर र मोटरसाइकल सञ्चालनमा आएका छन् ।
पालिका अध्यक्ष चौलागाईंका अनुसार सडक स्तरोन्नति गरी बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न गाउँपालिकाले प्राथमिकता दिएको छ । नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन तथा वडा नम्बर ७ पातरसाँघुबाट थलालेसम्मको चार दशमलव १७ किलोमिटर सडक निर्माणमा एक करोड २० लाख रुपैयाँ बजेट खर्च भएको छ ।
उपभोक्ता समितिका अध्यक्ष खेमबहादुर शाहीले सडक निर्माणपछि दुई घण्टाको यात्रा अब २० मिनेटमा पूरा हुने बताए । आफ्नै घरआँगनमा सडक पुगेपछि स्थानीयले नाचगान गरेर खुसीयाली मनाएका थिए ।
क्याटेगोरी : पालिका
प्रतिक्रिया