Techie IT
Samayabaddha
शुक्रबार, १६ फागुन, २०८१

सम्बन्ध विच्छेदलाई स्वीकार गर्न नसक्नु सामन्ती सोंच कै उपज


काठमाडौं । संसारभरका प्रेमी प्रेमिकाले मनाउने ‘भ्यालेनटाइन डे” आउन तीन दिन मात्र बाँकी हुँदा नेपालका एक चर्चित जोडीको सम्बन्धमा ब्रेक लागेको छ ।

पश्चिम नेपालकी चेली नेपाली गायिका एलिना चौहानले गत वैशाख ५ गत अस्ट्रेलिया बस्दै आएका बागलुङ निवासी विष्णु सापकोटासँगे बिहे थिइन ।

एलिना चौहान र विष्णु सापकोटाबीचको वैवाहिक सम्बन्ध माघ २९ गते मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश मोना सिंहको इजलासले अंश र मानाचामल नलिने गरी सम्बन्धविच्छेदको मुद्दा टुंगो लगाएको हो । एलिनाले गत माघ १८ गते पति विष्णु सापकोटाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा सम्बन्धविच्छेदको मुद्दा ९फिरादपत्र० दर्ता गराएकी थिइन् । अदालतले ११ दिनमै उनको मुद्दाको टुङ्गो लगाएको हो । उनले मानाचामल र अंश नलिने बताएपछि मुद्दाको छिटो किनारा लागेको बताइएको छ ।

एलिनाको सम्बन्ध विच्छेदको विषयलाई नेपाली समाज, सामाजिक सञ्जालमा विभिन्न कोणबाट अहिले चर्चा भइरहेको छ । कसैले एलिनालाई ठिक गरिन भनेका छन् त कसैले विवाह भनेको सम्झौता भएको उपदेश दिइरहेको छन् । तर सम्बन्ध जोगाउन महिलाहरुले मात्र त्याग गर्नुपर्छ भन्ने सोंचाइ रहेको देखिन्छ । सम्बन्ध जोगाउन दुवै जनाले त्याग गर्न सक्यो भने त्यो दिगो हुन्छ ।

महिलाहरुले वैवाहिक सम्बन्धलाई अगाडि बढाउन सक्ने स्थितिसम्म कसैले पनि सम्बन्धलाई तोड्न चाहदैन । भोगेका पीडाहरु सबै बाहिर लैजान नसक्ने स्थिति पनि नहुन सक्छ ।

काभ्रेकी चेली ममता काफ्लेले समयमा सम्बन्ध विच्छेद गर्न नसक्दा र श्रीमानसँग पटक पटक सम्झौता गरिरहँदा उनी आफ्नै श्रीमानको हातबाट अमेरिकामा ज्यानै गुमाएको घटना नेपालीहरुको स्मरणमा ताजै छ । त्यसैले यस्ता निजी मामलामा जथाभावी न्यायधिश नबनीकन हौसला प्रदान गर्नु नै समाजको दायित्व हुन जान्छ । ज्यानै गइसकेपछि सहानुभूति प्रकट गर्नुभन्दा अन्याय र अत्याचार सहेर बस्नुहुँदैन भनेर सबैलाई सचेतना गराउन आवश्यक छ ।

अदालतबाट निर्णय आउनासाथ गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँगको वैवाहिक सम्बन्ध अल्पायु मै पूर्णविराम लागेको बताएकी छन् ।

काठमाडौँ जिल्ला अदालतले सम्बन्धविच्छेदको मुद्दामा फैसला गरेसँगै चौहानले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्, ‘फेरा, चुरा, सिन्दूर, लगनगाँठो, विवाह दर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ । भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ । जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ ।’ उनको यो संश्लेषण अत्यन्तै उत्कृष्ट र परिपक्व पनि देखिन्छ ।

सम्बन्ध विच्छेद गर्न केटीका परिवारको साथ पनि जरुरी देखिन्छ । जुन एलिनालाई मिलेको छ । तर सबैको परिवारलाई यो नमिल्न पनि सक्छ र पछि दुर्घटना निम्तन पुग्छ ।

एलिनाले प्रिय विष्णु भन्दै आफ्नो फेसबुक स्ट्याटस सुरु गरेर वैवाहिक जीवनका अविस्मरणीय पलहरू समेत उल्लेख गरेकी छन् । ‘प्रिय विष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दूरका डोबहरू अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन् । हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ,’ उनले लेखेकी छन् ।

केही समयको प्रेमपछि वैवाहिक सम्बन्धमा गाँसिएकी एलिनाको यो भनाईलाई मनन गर्दा गहिरो पीडा सहेर पनि उनले विष्णुलाई माया गरिरहेको देखिन्छ । सम्बन्धविच्छेद रहरले नभई बाध्यतामा भएको उनको भनाइ छ । ‘जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ,’ उनले लेखेकी छन् । यसबाट पनि पुष्टि हुन्छ कि एलिनाको सम्बन्ध विच्छेदमा कयौं पीडाहरु लुकाइएका छन् ।

यी पीडाहरुलाई खपेर सम्बन्धलाई कायम राखिराख्नुपर्छ भन्ने सोंचबाट गरिएका टिप्पणीहरु सामन्ती र पुरातन विचारको उपज वाहेक केही होइनन् । अझै पनि महिलाहरुले दासत्वपूर्ण जीवन बाँचिरहनुपर्छ भन्ने दृष्टिकोणमा परिवर्तन आउन नसक्नु विडम्बनापूर्ण छ ।

अहिले महिलाहरुलाई लाग्दै आएको एउटा अर्काे आरोप के पनि छ भने सम्पत्ति कै लागि महिलाहरुले विवाह र सम्बन्ध विच्छेद गर्छन । त्यसैले कानुनमै महिलाहरुले सम्बन्ध विच्छद गरेर लिएको सम्पत्ति अर्काे विवाह गरेमा अघिल्लो श्रीमान तथा उनका छोराछोरी तथा परिवारलाई हक लाग्ने व्यवस्था गरिएको छ । यो पुरातन सोंचको उपज हो ।

एलिना चौहानले पत्नीका रूपमा अधिकारले आफूले पाउने सम्पत्ति पनि विष्णुको प्रगति र उन्नतिका लागि छोडेको बताएबाट यो कोणबाट गरिने आलोचनामा भने यस घटनामा ब्रेक लागेको छ ।


क्याटेगोरी : बिचार

प्रतिक्रिया


ताजा अपडेट