हमासले इजरायललाई ४ जना बन्धकको शव हस्तान्तरण गर्यो

प्लालेस्टिनी विद्रोही समूह हमासले इजरायललाई चार जना बन्धकको शव हस्तान्तरण गरेको छ । हमासले गाजामा चार जना बन्धकको शव इजरायली सेनालाई बुझाएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
हमासका अनुसार इजरायली आक्रमणमा मारिएका चार जनामा बिबास परिवारका तीन सदस्य छन् जसमा आमा शिरी र उनका साना छोराछोरी केफिर र एरियल छन् । केफिर र एरियल अपहरणमा पर्दा नौ महिना र चार वर्षका थिए । हस्तान्तरण भएको चौथो शव ८४ वर्षीय ओडेड लिफ्सिट्जको हो ।
शव हस्तान्तरण गर्नुअघि हमासले बलौटे जमिनमा बनाइएको मञ्चमा चार वटा कालो कफिन प्रदर्शन गरेको थियो । अब इजरायली रक्षा बल (आईडीएफ) शवको औपचारिक पहिचानका लागि जाफाको अबु कबीर फरेन्सिक इन्स्टिच्युटमा लैजाने छ । शवको परीक्षणपछि मृतकका परिवारलाई जानकारी गराइने खबरमा उल्लेख छ ।
यसअघि हमासले इजरायली आक्रमणमा मारिएका चार जना बन्धकको शव हस्तान्तरण गरिने बताएको थियो । गएको महिना युद्धविराम शुरू भएयता हमासले मारिएका बन्धकहरूलाई फिर्ता गरेको यो पहिलो पटक हो ।
यसैबीच हमासले पर्सि शनिवार ६ जना इजरायली बन्धकलाई रिहा गर्दैछ । यसको बदलामा इजरायलले गएको अक्टोबरदेखि अपहरणमा परेका सबै महिला र १९ वर्षमुनिका बालबालिकालाई रिहा गर्ने जनाएको छ ।
गाजामा १५ महिनाभन्दा लामो सङ्घर्षपछि जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविरामको पहिलो ६ हप्ताको प्रथम चरणको एक हिस्साका रूपमा शव हस्तान्तरण भएको हो ।
यसैबीच इजरायली प्रधानमन्त्री नेतन्याहुले बन्धकको शव फिर्ताको क्षण इजरायलका लागि निकै कठिन दिन हुने बताएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया