Techie IT
Samayabaddha
आईतबार, ११ फागुन, २०८१

पूर्वराजा ज्ञानेन्द्र शाहलाई आगामी निर्वाचनमा भाग लिने हिम्मत गर्न कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेको आग्रह


काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य ईश्वरीदेवी न्यौपानेले संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा बोल्ने प्रयत्न भइरहेको भन्दै आपत्ति जनाएकी छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने र कदापि राजतन्त्र हुन नसक्ने उनले बताएकी हुन् । उनले विधिको शासनमा गल्ती सच्याउने र सजाय गर्ने पनि विधि हुने बताईन् । कुनै पनि बहानामा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि भइरहेको प्रहार स्वीकार्य नरहेको उनको चेतावनी छ । संघीय लोकतान्त्रिक गणतन्त्रका लागि लडेकाहरु यसको विरुद्धमा भइरहेको गतिविधिबाट सचेत हुनुपर्ने उनले बताइन् ।

‘लोकतान्त्रिक गणतन्त्र कसैको कृपाले आएको होइन । नेपाली जनताको शक्तिले हासिल गरको हो, लोकतन्त्रको विकल्प लोकतन्त्रभन्दा अर्को कुनै हुनैसक्दैन । व्यक्ति गलत हुनसक्छ, व्यक्तिले गल्ती गर्न सक्छ । विधिको शासनमा गल्ती सच्याउने र सजाय गर्ने पनि विधि नै हुन्छ । त्यो विधिलाई छलफल गरेर अझ पार्दर्शी र कसिलो बनाउन सकिन्छ । गल्ती गर्नेलाई दण्डित गर्न सकिन्छ । तर, कुनैपनि बहाना गरेर गणतन्त्रमाथिको प्रहार स्वीकार्य छैन । पछिल्ला दिनहरुमा संसद् जनताको समस्या छलफल गर्ने भन्दापनि एकअर्कालाई आरोप–प्रत्यारोप गर्ने थलोजस्तो देखिँदै छ । संसद् मर्यादित भन्दा पनि अराजक भयो भन्ने गुनासो थुनिन थालेको छ । लोकतान्त्रिक गणतन्त्रका लागि लडेकाहरु सचेत हुन जरुरी छ । व्यवस्थामाथि वितृष्णा फैलाउन चालिएको चाल त होइनन् ति ?’ प्रश्न गर्दै उनले भनिन् ।

नेतृ न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आगामी २०८४ को निर्वाचनमा भाग लिने हिम्मत गर्न आग्रह गरिन् । उनले टीका लगाएर वा कृपाले पुनः सत्ता र शक्तिमा फर्किने सपना नदेख्न पूर्वराजा र उनका समर्थकहरुलाई चुनौती दिईन् । ‘जुन आन्दोलनले जनतालाई रैतीबाट नागरिक बनायो, नागरिक नै देशको सर्वोच्च पदमा पुग्नसक्ने बनायो, त्यही आन्दोलनले नै हो राजालाई आन्दोलनबाट नागरिक बनाएको हो । सत्तामा नै फर्किन चाहना छ भने टीका लगाएर या कसैको कृपाले होईन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ को निर्वाचनमा भाग लिने हिम्मत गर्नुस् । पूर्वराजा र समर्थकहरुलाई मेरो सुझाव छ– कहिले पूरा नहुने, झर्ला र खाउँला भन्ने सोचाइ त्यागिदिनुस्,’– उनले भनिन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट