गोकुल बास्कोटाको माओवादीलाई प्रश्न : व्यवस्था बदल्न खोजेको कि सरकार ?

काठमाडौं, ११ फागुन । नेकपा (एमाले०) का सांसद गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र) लाई कित्ता स्पष्ट पार्न आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा उनले व्यवस्था बदल्न खोजेको कि सरकार भन्नेमा स्पष्ट हुन आग्रह गरे ।
“गम्भीरतापूर्वक कुरा उठिरहेको छ, माओवादीले आफ्नो कित्ता क्लियर गरोस् । दक्षिणपन्थी यात्रा हो कि समाजवादी यात्रा हो ? व्यवस्था बदल्न खोजेको कि सरकार बदल्न खोजेको ?,” बास्कोटाले प्रश्न गरे । उनले कांग्रेस–एमाले सरकार र नेपाली राजनीतिको संस्थापन भएको पनि बताए । उनले संघर्ष चर्काउने भनेर माओवादी व्यवस्था बदल्न खोजेको आरोपसमेत लगाए ।
“राजा ल्याउने भनेर एकथरी कराउने, संघर्ष चर्काउने भनेर अर्कोथरी कराउने । प्रतिशोध भयो भनेर डे वानदेखि अर्कोथरी कराएको छ । ठिकै हो यहाँ कराउन पाइन्छ, सरकारका काम मन नपर्न सक्छ । के प्रमुख प्रतिपक्षले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो ?,” उनले प्रश्न गरे, “दक्षिणपन्थी र वामपन्थी विचार बोक्नेको एउटै चुलो बलेको हो ? सहमति त्यसमा हो ? याद गर्नुहोला, त्यो चुलोमा कहिल्यै राजतन्त्र फर्काउने, गणतन्त्र मास्ने खिचडी एक पाक्दैन, दुई पाक्दैन, तीन पाक्दैन भ्रममा नरहिदिनुहोला ।”
उनले के गर्न राजतन्त्र फर्काउने ? भन्दै प्रश्न गरे । उनले राजतन्त्र फर्कन सम्भवः नभएको पनि बताए । “धेरै दुःख गर्नुपर्दैन । एउटा प्लेन टिकट काटदिनुस्, पूर्वराजा जुलुस नगरी काठमाडौं फर्किहाल्छन नि ।,” उनले भने, “फर्किने भनेको काठमाडौं त होला नि, सिंहासनमा त सम्भव छैन,” बास्कोटाले भने ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया