शान्ति स्थापनाका लागि पद छोड्न तयार रहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीको भनाइ

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति स्थापनाका लागि आफू राष्ट्रपति पद छोड्न तयार रहेको बताएका छन् । उनले युक्रेनको नेटो सदस्यताका लागि पनि पद छोड्न तयार रहेको बताएका हुन् ।
हिजो राजधानी किभमा वर्ष २०२५ फोरममा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनलाई युरोप र अमेरिका दुवैको समर्थन आवश्यक रहेकोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको दुर्लभ खनिज साझेदारी गर्ने प्रस्ताव मान्न पनि आफू तयार रहेको बताएको बीबीसीले जनाएको छ ।
यसअघि उनले आफूले राज्य नबेच्ने भन्दै यो प्रस्ताव खारेज गरेका थिए । जेलेन्स्कीले अमेरिकाले रुसलाई युद्ध अन्त्य गर्न मनाएमा अमेरिकासँग खनिजका विषयमा कुरा गर्न तयार रहेको बताएका हुन् ।
यसैबीच, शान्ति सम्झौताका लागि युरोपेली देशका नेताहरुको बैठक आजदेखि युक्रेनमा बस्दैछ । बैठकमा आउँदो वर्षको लागि आआफ्नो देशको रणनीति र युक्रेनको सुरक्षा ग्यारेन्टीको बारेमा पनि छलफल गर्ने तयारी छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया