जर्मनीको आमनिर्वाचनमा प्रतिस्पर्धी दलहरूलाई धेरै मतान्तरले पछि पार्दै कन्जर्भेटिभ पार्टीका फ्रिडरिख मेर्ट्सको जित

काठमाडौं, १२ फागुन । फ्रिडरिख मेर्ट्स नेतृत्वको कन्जर्भेटिभ पार्टीले जर्मनीको आमनिर्वाचनमा प्रतिस्पर्धी दलहरूलाई धेरै अन्तरले पछि पार्दै जित हासिल गरेको छ। आइतवार भएको मतदानबाट चरम दक्षिणपन्थी दल ‘अल्टर्नटिभ फर जर्मनी’ (एएफडी) दोस्रो ठूलो दल बनेको छ। यो दलले २० प्रतिशत मत पायो।
मेर्ट्सको क्रिश्चन डेमोक्याट्स (सीडीयू) सबैभन्दा ठूलो दल बने पनि उक्त दलले अपेक्षा गरिएको अर्थात् ३० प्रतिशतभन्दा कम मत पाएको छ ।
‘आज रातभरि हामी उत्सव मनाऔँ, भोलि बिहानैबाट काम गर्नु छ,’ मेर्ट्सले खुसी मनाइरहेका आफ्ना समर्थकहरूलाई भने। उनले आफ्नो अगाडि देखिएका जिम्मेवारीबारे आफू जानकार रहेको बताएका छन्।
प्रतिस्पर्धी एएफडीबाट चान्सलरको उम्मेदवार बनेकी एलिस वाइडलले समर्थकहरूको बलमा आफ्नो दललाई दोस्रो बनाउन सफल भए पनि उक्त दलले अझै ठूलो जित अपेक्षा गरेको थियो। मत परिणामपछि उक्त दलको मुख्यालय शान्त देखिएको छ।
सोमवार लागेलगत्तै आएको मत परिणामअनुसार एएफडीले अन्य भागभन्दा देशको पूर्वी भागमा अरू दलभन्दा धेरै मत पाएको छ। सार्वजनिक प्रसारक संस्था जेडडीएफको सर्वेक्षणअनुसार यो दलले पूर्वी क्षेत्रमा ३४ प्रतिशत मत कटाउने देखिएको छ।
‘जर्मनहरूले परिवर्तनका पक्षमा मतदान गरेका छन्,’ वाइडलले भनिन्। उनले मेर्ट्सको दलले गठबन्धन सरकार बनाए पनि त्यो सफल नहुने दाबी गरिन्। ‘मलाई अर्को चार वर्ष पर्खनुपर्छ जस्तो लाग्दैन। हामी ताजा चुनावमा जान्छौँ,’ उनले भनिन्।
हाल ६९ वर्षका मेर्ट्स यसअघि कहिल्यै मन्त्री भएका छैनन्। तर उनले युरोपमा बलियो नेतृत्व दिने वाचा गरेका छन्। आफ्नो सैन्य बजेट कटौती गर्नुपर्ने आन्तरिक दबावबीच उनले युक्रेनलाई सहयोग बढाउने वाचा पनि गरेका छन्। जर्मनी युक्रेनमा दोस्रो धेरै सैन्य सहयोग गर्ने देश हो। यो देशको अबको नेतृत्वले रुसविरुद्धको लडाइँमा पश्चिमा शक्तिहरूको विभाजनसँगै युक्रेनी राष्ट्रपतिलाई निरङ्कुश भएको आरोप लगाएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सामना गर्नुपर्ने छ।
कस्तो गठबन्धनको सम्भावना ?
पूर्वी क्षेत्रबाहेकका सबै स्थानमा अन्य दलभन्दा धेरै मत पाएको सीडीयूले आफ्नो दलबाट चान्सलर बनाउन अर्को एउटा पार्टीसँग गठबन्धन गर्नुपर्ने हुन्छ। हालका चान्सलर ओलाफ शोल्ट्सको दल उक्त गठबन्धनमा सहभागी हुन सक्ने आकलन गरिएको छ।
शोल्ट्सले तीन वटा दलको गठबन्धन गरेर बनाएको सरकार गत वर्ष ढलेको थियो। मेर्ट्सले यो निर्वाचनबाट कम्तीमा दुई वटा दलबीचको गठबन्धनबाट सरकार बन्न सक्ने गरी स्पष्ट जनादेश दिन मतदाताहरूलाई आह्वान गरेका थिए। त्यसले आफूलाई देशले सामना गरिरहेका समस्या समाधान गर्न सक्षम बनाउने उनको चुनावी वाचा थियो।
मेर्ट्सको पार्टीले एएफडीसँग गठबन्धन नगर्ने बताउँदै आएको छ। तर उनले गठबन्धन गर्ने भनेको सोशल डेमोक्र्याटले सबैभन्दा खराब नतिजा बेहोरेको छ। उक्त दलले १६।४ प्रतिशत मात्रै मत पायो। सरकारबाट बाहिरिन लागेका चान्सलर ओलाफ शोल्ट्सले निर्वाचन परिणामले पार्टीको नराम्रो हार देखाएको बताए। उनले गठबन्धन सरकार बनाउने वार्तामा आफू सहभागी नहुने बताएका छन्।
यसअघि सीडीयूको कमजोर प्रदर्शनका कारण दुई वटा दलको मात्रै गठबन्धन सरकार बन्नेमा आशङ्का गरिएको थियो। जर्मनीमा चार वर्षसम्म तीन वटा पार्टीको गठबन्धनले सरकार चलाएको थियो। मेर्ट्सको दलका लागि अर्को भरपर्दो साझेदार ग्रीन्स थियो। तर उक्त दलका प्रमुखलाई मेर्ट्सले मतदानअघि नै ‘हीट पम्पका प्रतिनिधि’ भनेर खिल्ली उडाएका थिए।
मेर्ट्स को हुन्
हाल ६९ वर्षका मेर्ट्स यसअघि कहिल्यै मन्त्री भएका छैनन्। तर उनले युरोपमा बलियो नेतृत्व दिने वाचा गरेका छन्। आफ्नो सैन्य बजेट कटौती गर्नुपर्ने आन्तरिक दबावबीच उनले युक्रेनलाई सहयोग बढाउने वाचा पनि गरेका छन्।
जर्मनी युक्रेनमा दोस्रो धेरै सैन्य सहयोग गर्ने देश हो। यो देशको अबको नेतृत्वले रुसविरुद्धको लडाइँमा पश्चिमा शक्तिहरूको विभाजनसँगै युक्रेनी राष्ट्रपतिलाई निरङ्कुश भएको आरोप लगाएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सामना गर्नुपर्ने छ।
यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्स र अर्बपति इलोन मस्कले एफडीकी नेतृत्वलाई खुलेर समर्थन गरेपछि त्यसले कैयौँ जर्मनहरूलाई चकित तुल्याएको थियो।
यद्यपि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेर्ट्सको जितलाई स्वागत गरेका छन्।
युरोपेली देशहरूले पनि मेर्ट्सको जितलाई स्वागत गरेका छन्। यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरले दुवै देशको सुरक्षा बनाउन मेर्ट्ससँग सहकार्य हुने अपेक्षा गरेका छन्। फ्रान्सका राष्ट्रपति एमानुएल माँक्रोले विश्व र आफ्नो महादेशले सामना गरिरहेको चुनौतीविरुद्ध एक हुन आह्वान गरेका छन्।
ऐतिहासिक मतदान
जर्मनीको यो पटकको निर्वाचनमा ८३ प्रतिशत मतदान भएको छ। सन् १९९० मा पुनः एकीकरण भएयताको यो सबैभन्दा धेरै मतदान हो।
जर्मनीमा मतदानका लागि पाँच करोड ९२ लाख मानिसहरू योग्य थिए। तीमध्ये दशौँ लाखले चुनावको दिन अघि नै हुलाकमार्फत् आफ्नो मत व्यक्त गरिसकेका थिए। बीबीसीबाट
क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति
प्रतिक्रिया