Techie IT
Samayabaddha
सोमबार, १२ फागुन, २०८१

शिवरात्रिमा पशुपतिनाथ दर्शनगर्न ५ लाख आउने अनुमान, मेलामा काँच र प्लास्टिक प्रतिबन्ध


काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यस वर्ष शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा झन्डै ५ लाख दर्शनार्थी आउने अनुमान गरेको छ । कोषले आज पत्रकार सम्मेलन गरेर महाशिवरात्री अर्थात् आउँदो बुधवार झन्डै पाँच लाख दर्शनार्थी आउने अनुमानसहित तयारी गरेको जानकारी गराएको हो ।

यस्तै मेला व्यवस्थापनका लागि एक करोड ५० लाख रुपैयाँ खर्च हुने कोषको अनुमान छ । कोषले पशुपति क्षेत्रको सजावटसहित मेलामा आएका साधुसन्तको खानरबस्न खर्च तथा दक्षिणालगायत व्यवस्थापनमा खर्च हुने जनाएको छ ।

महाशिवरात्रिको तयारी गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । यस्तै मूल समिति अन्तर्गत रहने गरी १० वटा उपसमिति पनि गठन भएको कोषले जनाएको छ ।

मेलाका लागि पशुपतिनाथको क्षेत्रमा सजावटको काम भइरहेको छ । शिवरात्रिका दिन पशुपति क्षेत्रमा झन्डै सात हजार जना प्रहरी परिचलन गर्ने तयारी छ । त्यसैगरी निर्धारित दर्शनमार्गहरूलाई लक्षित गरी सीसीटीभी क्यामेरा जडान गर्ने कोषले जनाएको छ । महाशिवरात्रिमा पशुपति क्षेत्रमा ४१ वटा संस्थाका चार हजार जना स्वयंसेवक परिचालन हुनेछन् । ट्राफिक प्रहरी महाशाखाको सहयोगमा निश्चित ठाउँमा पार्किङस्थलहरूको पनि व्यवस्था गरेको कोषले जनाएको छ ।

कोषले महाशिवरात्रिमा पशुपतिनाथ क्षेत्रभित्र आवासरभोजन वितरण गर्ने संस्थाहरूलाई काँच र प्लास्टिकबाट बनेका कप, प्लेट प्रयोग गर्न रोक लगाउने निर्णय गरेको छ । त्यस्ता संस्थाहरूलाई कागज, पातलगायतबाट बनेका कप, प्लेट मात्रै प्रयोग गर्न भनेको पत्रकार सम्मेलनमा प्रचारप्रसार समिति संयोजक राजु खत्रीले जानकारी दिए ।

पशुपति क्षेत्रमा साधुसन्त आउने क्रम चलिरहेको छ । कोषले भोलिदेखि १६ गतेसम्म पशुपति क्षेत्रमा विशेष सरसफाई अभियान पनि सञ्चालन गर्ने भएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट