Techie IT
Samayabaddha
बुधबार, १४ फागुन, २०८१

अफगानिस्तानमा असिना र भारी वर्षाका कारण २९ जनाको मृत्यु


हेरात (अफगानिस्तान), १४ फागुन । अफगानिस्तानका दुई प्रान्तमा असिना र भारी वर्षाका कारण २९ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

“पश्चिमी फराह प्रान्तमा असिनाका कारण २१ जनाको मृत्यु भयो र अन्य छ जना घाइते भए”, प्रान्तको विपद् व्यवस्थापन विभागका प्रमुख मोहम्मद इजरायल सायरले भने । पीडितहरू पिकनिकमा गएका दुई परिवारका सदस्यहरू रहेको उनले बताए ।

दक्षिणी कान्दाहारमा स्थानीय विपद् व्यवस्थापन विभागले एक विज्ञप्तिमा भारी वर्षाका कारण विभिन्न स्थानमा महिला र बालबालिका सहित आठ जनाको मृत्यु भएको बताएको छ ।

“आज कपडा धुने काममा व्यस्त चार महिलालाई बाढीको पानीले बगाएर लगेको थियो… र एक महिला मात्र बाँच्न सफल भइन्”, वक्तव्यमा भनिएको छ ।

कान्दाहारमा एक परिवारको छत खस्दा एक बच्चा डुबेको र एक महिला र तीन बालबालिकाको मृत्यु भएको बताइएको छ ।

दशकौँसम्मको युद्धपछि विश्वका सबैभन्दा गरिब देशमध्ये अफगानिस्तान विशेष रूपमा जलवायु परिवर्तनको प्रभावमा परेको छ । वैज्ञानिकहरूका अनुसार यस मुलुकमा चरम मौसमी घटनाहरू बढिरहेका छन् ।

यो जलवायु परिवर्तनप्रति सबैभन्दा बढी संवेदनशील देशहरूको सूचीमा छैटौँ स्थानमा रहेको छ ।

संयुक्त राष्ट्र विकास एजेन्सीका अफगानिस्तानस्थित प्रतिनिधि स्टिफेन रोड्रिक्सले सन् २०२३ मा खडेरी, बाढी, भूमि क्षरण र कृषि उत्पादकतामा गिरावट प्रमुख खतराहरू रहेको बताएका थिए।

गत वर्ष मे महिनामा आएको आकस्मिक बाढीले अफगानिस्तानमा सयौँ मानिसको ज्यान लिएको थियो र कृषि भूमिको ठूलो भाग डुबानमा परेको थियो । त्यहाँ ८० प्रतिशत मानिस बाँच्नका लागि खेतीमा निर्भर छन् । रासस/एएफपी


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट