माओवादीको तराई–मधेश जागरण अभियान ‘कस्मेटिक’ अभियान नबनोस्

सम्पादकीय
सरकारको प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले यही फागुन १२ गतेदेखि तराई–मधेश जागरण अभियान सुरु गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालकै होचो भूभाग झापाको कचनकवल गाउँपालिकामा रहेको हुकाहुकी चोकबाट नेपाली झण्डा फहराउँदै अभियानको उद्घाटन गरेका हुन् । तराई/मधेश जागरण अभियानले नागरिकसँगको सम्बन्धलाई जीवन्त बनाउने बिश्वास लिइएको छ । अभियानका लागि रोजेको हुलाकी राजमार्गले तराई मधेश क्षेत्रका आदिवासी जनजातिसँग जोड्ने माओवादी केन्द्रको दाबी छ ।
अभियानन कार्यक्रममा माओवादी केन्द्रका नेताहरु अग्नी सापकोटा, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुषाल, हरिवोल गजुरेल, शक्ति बस्नेत लगायतका नेताहरुको सहभागिता रहेको छ । विगतमा पार्टीले गरेको कमी–कमजोरीलाई पाँच महिना पालिकादेखि केन्द्रसम्म छलफल गरेर सङ्कल्पसहित नागरिकमा जाने निर्णय गरेर अभियान सञ्चालन गरिएको हो । देशको सशाकीय स्वरुप लगायतका व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएकोमा असन्तुष्टि रहेपनि सुशासन, सामाजिक न्याय र समृद्धिका लागि माओवादीप्रति नै उच्च भरोसा रहेको माओवादीले अनुभूती गरेर यो कार्यक्रम आयोजना गरेको हो । स्थानीय जनताले विकास, सामाजिक न्यायका कैयन् मुद्दाहरु भेटका क्रममा नेतृत्वसँग राखेका छन् । सबै जिल्लामा जनतासँग साक्षात्कारपछि जनसरोकारका मुद्दाहरुलाई पूरा गर्न पार्टीले संघर्षको ठोस योजना बनाउने जनाइएको छ ।
पार्टीको रुपान्तरण र पुनर्गठनका लागि पनि पार्टीभित्र भ्रष्टीकरणको प्रक्रियालाई रोक्न जरुरी छ । वैचारिक र सांस्कृतिक स्खलनको प्रक्रियाविरुद्ध सङ्घर्ष गर्ने, विधि पद्धति स्थापित गर्न सङ्घर्ष गर्नु आवश्यक छ । पार्टीभित्र मौलाएको नातावाद, परिवारवाद, गुण्डागर्दी एवम् हुकुमी शैली नबदलेसम्म यस्ता अभियान केवल देश घुम्ने र मुखको स्वाद फेर्ने ‘कस्मेटिक’ अभियान मात्र हुने निश्चित छ ।
झापादेखि सुरु भएको अभियान कञ्चनपुर पुगेर समापन हुने छ । प्रतिगमनको खतराविरुद्ध खबरदारी गर्दै संविधान रक्षा गर्न तथा सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न तराई मधेश जागरण अभियान सञ्चालन गर्न लागेको माओवादी केन्द्रका नेताहरुले बताएका छन् । अभियानका क्रममा नेताहरुले दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्ने पनि बताएका छन् ।
तर माओवादीले अरुलाई दलाल, तस्कर, भूमाफिया, भ्रष्ट भनेर आफू भने पानी माथिको ओभानो बन्न हुँदैन । माओवादीले आफैँभित्र रहेको सामन्ती शैली र भ्रष्ट आचरण भने सुरुमै पखाल्न जरुरी छ ।
पार्टीको रुपान्तरण र पुनर्गठनका लागि पनि पार्टीभित्र भ्रष्टीकरणको प्रक्रियालाई रोक्न जरुरी छ । वैचारिक र सांस्कृतिक स्खलनको प्रक्रियाविरुद्ध सङ्घर्ष गर्ने, विधि पद्धति स्थापित गर्न सङ्घर्ष गर्नु आवश्यक छ । पार्टीभित्र मौलाएको नातावाद, परिवारवाद, गुण्डागर्दी एवम् हुकुमी शैली नबदलेसम्म यस्ता अभियान केवल देश घुम्ने र मुखको स्वाद फेर्ने ‘कस्मेटिक’ अभियान मात्र हुने निश्चित छ ।
माऊ पार्टी र यसका हरेक जनवर्गीय संगठनमा मौलाएको गुटवाद, तानाशाही प्रबृत्ति, नेतृत्वको पाउ मोलेर पाइने पद सधैँका लागि अन्त्य गर्दै पार्टीभित्र आन्तरिक लोकतन्त्रको अनुभूभी हुनसक्यो भने मात्र यस्ता अभियानले सार्थकता पाउने छन् । पार्टीभित्र उठेका फरक मतलाई दवाएर नभई तिनको सम्मान गरेर अगाडि बढ्न सक्ने हो भने माओवादी पार्टी जनताको प्रिय पार्टी बन्न सक्नेमा कसैको दुईमत नरहला ।
क्याटेगोरी : बिचार, राजनीति
प्रतिक्रिया