परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान काठमाडौं ल्याण्ड हुन सकेन, कोलकाता डाइभर्ट

काठमाडौं, फागुन १६ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सवार विमान खराब मौसमका कारण कोलकाता डाइभर्ट गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार परराष्ट्रमन्त्री कतार एयरबाट काठमाडौं आउँदै थिइन् ।
प्रवक्ता शेर्पाले भने, “कतारबाट आएको एयर काठमाडौं ल्याण्ड हुन सकेन । खराब मौसमका कारण कोलकाता डाइभर्ट गरिएको छ ।”
शुक्रबार प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् ।
कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौंका लागि आएका कतार एयरवेजका क्यूआर ६५२ जहाज कोलकता डाइभर्ट गरिएको छ । त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन् । मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ ।
मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् । कार्यालयका अनुसार काठमाडौं–पोखरा, काठमाडौं–भरतपुर, काठमाडौं–नेपालगञ्ज, काठमाडौं–राजविराज, काठमाडौं, विराटनगर, काठमाडौं–जनकपुर, काठमाडौं–भद्रपुर, काठमाडौं–भैरहवा लगायतका केही उडान रद्द भएको कार्यालयले जनाएको छ । साथै अधिकांश उडान डिले भएका छन् ।
प्रवक्ता शेर्पाका अनुसार दिउँसोदेखि भने उडान सामान्य रुपले भइरहेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया