सिन्धुली गढीमा स्वर्गीय लोक गायक कृष्णविक्रम थापा भेटिँदा…

सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमई
कत्तिमा राम्रो दरबार मार्यो नि मायाँले मार्यो …
यो गित सिन्धुली जिल्लालाई देश–विदेशमा चिनाउने लोक गायक कृष्णविक्रम थापाले २०३६ सालमा रेडियो नेपालमा गाएको चर्चित गित हो । एक हप्ताअघि सिन्धुली गढीको किल्ला र त्यहाँ नवनिर्मित युद्ध सङ्ग्रहालयको भ्रमण अवलोकनमा गएका बेला त्यहाँस्थित सुरक्षा गार्डको मोबाइलमा पनि यही गित बजिरहेको थियो ।
गितको सुरसँगै सिन्धुली गढीमा निर्मित रानी दरबारको पनि अवलोकन गर्न मन लाग्यो । अहिले त रानी दरबार चिटिक्क बेहुलीजस्तै सिँगारिएको रहेछ । केही वर्ष पहिला यो खण्डहर थियो । बागमती प्रदेश सरकार, स्थानीय सरकार र नेपाली सेनाको सहयोगमा सिन्धुली गढी क्षेत्रको पुनर्निर्माण भएसँग अहिले बिपी राजमार्गहुँदै पूर्वी नेपालको यात्रा गर्ने अधिकाँश आन्तरिक तथा बाह्य पर्यटक ऐतिहासिक सिन्धुली गढीको अवलोकन गर्न जाने गरेको सुन्दा गर्वले छाती चौडा हुन्छ ।
अहिले सिन्धुलीगढीमा स्वर्गीय गायक कृष्णविक्रम थापाको पूर्ण कदको शालिक पनि निर्माण भएको रहेछ । बिपी राजमार्ग निर्माण हुनुपूर्व हामी जिल्ला सदरमुकाम सिन्धुली माढीबाट पुर्ख्यौली घर चपौली ओहोर-दोहोर गर्दा ऐतिहासिक गढीहुँदै हिँड्थ्यौँ । वनमा फुलेका लालिगुराँसको फूल, ऐंसेलु र काफल खाएको पनि अहिले यहाँ आएपछि स्मरण भयो ।
गितको माध्यमबाट जिल्लालाई देश तथा विदेशमा चिनाउन सफल सिन्धुलीका लोकगायक स्वर्गीय थापालाई ढिलै भएपनि कमलामाई नगरले शालिक बनाएर सम्मान गरेकोमा कमलामाई नगरपालिकालाई धन्यवाद दिनैपर्छ ।
स्वर्गीय गायक थापाको शालिक बनाउन नगरलाई यहाँका बुद्धिजीवी र नागरिक समाजले पटक–पटक सुझाव दिएको हुँदा कमलामाई नगरपालिकाका तत्कालिन प्रमुख खड्गबहादुर खत्रीले थापाको शालिक बनाउने बाचा पुरा गर्ने तीन वर्ष अघि नैं बाचा गर्नुभएको थियो । कमलामाई नगरले थापाको पूर्ण कदको शालिक बनाउन भन्दै ठेक्काको सूचना प्रकाशित गरेपछि अनुमानित १२ लाख ५० हजार स्टमेट भित्र उक्त शालिक बनेको कमलामाई नगरपालिका वडा नं ३ का अध्यक्ष खड्गप्रसाद चौगागाईँ बताउनुहुन्छ ।
सिन्धुली जिल्लाको तत्कालीन रतनचुरा गाबिस, हाल गोलन्जोर गाउँपालिकामा जन्मिनुभएका लोकगायक कृष्णविक्रमको निधन भने काठमाडौंमा आजभन्दा १४ वर्ष अघि भएको थियो । थापाले लोक गीतको माध्यमबाट सिन्धुलीलाई चिनाउने काम गरेको स्थानीय अहिले पनि सगौरव सुनाउँछन् । स्थानीयका अनुसार जीवनको पछिल्लो समयमा झाडापखालाको रोगबाट पीडित थापाको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । थापा जन्मेको रतनचुरा तत्कालीन समयमा सिन्धुली जिल्लाको बिकट गाउँ भनेर चिनिन्थ्यो । जिल्लाकै पिछडिएको ठाउँमा जन्मेर पनि थापाले लोक गीतको माध्यमबाट सुगम ठाउँमा जन्मेका मानिसले भन्दा बढी योगदान दिनु गर्वको विषय हो । स्वर्गीय गायक थापाले गाएको ‘सुन्तली मई’ गितको माध्यमबाट सिन्धुली जिल्ला र ऐतिहासिक सिन्धुलीगढीलाई नेपाल र विश्वभर चिनाउन सहयोग पुगेको धेरैको बुझाई छ ।
थापाले तोरी लाहुरे, खैजेडी भजन, नेपाल रिमझिम जस्ता थुप्रै चर्चित एल्बमहरु पनि बजारमा ल्याउनु भएको थियो । जानकारहरुका अनुसार जिल्लालाई सबैसामु चिनाउन अतुलनीय योगदान गरेका थापाको आफ्नो जीवनस्तर भने त्यतिमाथि उठेको थिएन । सिन्धुलीलाई मात्रै होइन, नेपाली लोक गीतलाईसमेत उकास्न थापाले गरेको योगदान स्मरणयोग्य छ । सिन्धुली गढीमा स्वर्गीय थापाको पूर्ण कदको शालिक बनेपछि सुन्तलीमई र कृष्णविक्रम थापालाई स्थानीयले सधैँभरी सम्झिरहेका छन् ।
नेपाल एकीकरणको समयमा काठमाडौंको तत्कालिन राजा जयप्रकाश मल्लको सहयोगार्थ गोरखाली फौजलाई हमला गर्न भनी आएका ईष्ट ईण्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वका २४०० बन्दुकधारी अंग्रेज फौज पटना–जनकपुर–सिन्धुली हुँदै काठमाडौं जाने क्रममा वि.सं १८२४ आश्विन १५ गते शिकारी बंशु गुरुङ र काजी श्रीहर्ष पन्त नेतृत्वको फौजले सिन्धुलीको सदरमुकाम ढुंग्रेबासतर्फबाट तथा काजी वंशराज पाण्डे खजान्ची वीरभद्र उपध्याय नेतृत्वको फौजले पौवागढी तर्फबाट चेपुवामा पारि अंग्रेज फैजलाई आक्रमण गरेका थिए ।
उक्त लडाईमा कालीबक्स, श्रीनाथ, गोरख कम्पनी (हाल पुरानो गोरख गण) का वीर गोर्खाली सेनाले खुकुरी, खुँडा, धनु, घुंयत्रो, सिस्नो, अरिंगाल जस्ता हतियार तथा प्राकृतिक चिजबिजको प्रयोग गरी २४०० मध्ये १६०० अंग्रेज फौजको करिव ४००–५०० बटा बन्दुक र केही तोपसमेत हात पार्न गोर्खाली फौज सफल भएका थिए । गोर्खाली फौजले सिन्धुली गढीको लडाइँमा अंग्रेज फौजलाई पराजय गर्न सफल भएको सिन्धुली गढी लडाइँका बारेमा धेरै कलाकारलहरुले गित संगित सिर्जना गरेका छन् ।
क्याटेगोरी : साहित्य
प्रतिक्रिया