Techie IT
Samayabaddha
शनिबार, १७ फागुन, २०८१

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशन : बर्दिवासमा बिना दर्ता सञ्चालित पाँच वटा अस्पताल बन्द गर्नु


जनकपुर, १७ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बर्दिवासमा बिना दर्ता सञ्चालित पाँच वटा अस्पताललाई बन्द गर्न निर्देशन दिएको बताएका छन्। अनुगमनको क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

शुक्रबार बेलुका उनले बर्दिवासको आठ अस्पताल अनुगमन गरेका थिए । तीमध्ये पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक सेवा सञ्चालन अनुमति नलिएकाले तत्काल बन्द गर्न भनिएको उनले जानकारी दिए ।

उनले अस्पताल सञ्चालकहरूलाई विधि पूरा गरी अनुमति लिएपछि मात्र सेवा सञ्चालन गर्न निर्देशन दिएको बताए । अनुगमनका क्रममा महेन्द्र डेन्टल क्लिनिक स्वीकृत रहेको पाइए पनि जनसेवा हस्पिटल र डि.एन.बि मेडिकेयर सेन्टरलाई नवीकरण गराउन भनिएको छ ।

उनी पछिल्लो समय भौतिक पूर्वाधार, उपकरण र जनशक्ति मापदण्ड नपुगेका अस्पतालहरू बन्द गर्न अभियान तीव्र बनाउँदै आएका छन् । यसअघि मधेश प्रदेशको जनकपुर र वीरगञ्जको अस्पतालमा अनुगमन गरेका थिए । त्यसक्रममा बिना दर्ता सञ्चालित जनकपुरका २० र वीरगञ्जको एक गरी २१ वटा अस्पताल बन्द गराएका थिए ।


क्याटेगोरी : प्रदेश खबर, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट