८७ वर्षकी महिला विश्वविद्यालयमा भर्ना

एजेन्सी, १८ फागुन । दक्षिण कोरिमा ८७ वर्षकी महिला विश्वविद्यालयमा भर्ना भएकी छन् । राजधानी सिओलको इलसुङ महिला माध्यमिक विद्यालयबाट स्नातक तह उतीर्ण किम ग्याप नियो सुकिमुङ महिला विश्वविद्यालयमा भर्ना भएकी हुन् । उनले समाज कल्याण विषय रोजेकी छन् ।
कोरिया टाइम्सले कुनै लक्ष्य छ कि ? भनेर राखेको जिज्ञासामा उनले आफूले अध्ययन गर्ने, सिक्ने र मानिसहरुसँगै रहने उद्देश्यले विश्वविद्यालयमा भर्ना गरेको बताइन् ।
सन् १९३८ मा जन्मेकी उनले आधारभूत विद्यालयमा सन् १९४५ देखि अध्ययन थालेकी थिइन् । अभिभावक किसान भएकाले उनको पढाइमा ध्यान दिन नसकेको, भाइ बहिनीलाई किमले हेर्नुपर्ने भएपछि उनको पढाइ अवरुद्ध भयो ।
आफू १७ वर्षको उमेरमा हुँदा बुबाको निधन भएपछि उनको परिवार बुसान बसाइँ सर्यो । त्यसपछि उनी जुत्ता कारखानामा काम गर्दै अन्य पेशा व्यवसायमा पनि आवद्ध भइन् ।
सन् १९८५ मा १५ वर्ष रोगले थला परेका श्रीमानको निधनपछि पनि किम काममा लागिरहिन् । सार्वजनिक स्नानगृहमा २३ वर्ष काम गरेकी उनी भन्छिन्, ‘बालबच्चाको पढाइको लागि म खटेको हुँ ।’
८० वर्षको उमेरमा उनी पुनः विद्यालय भर्ना हुन गइन् । माध्यमिक तहको शिक्षा पूरा गर्ने क्रममा उनले विभिन्न पुरस्कारसमेत जितेकी थिइन् ।
क्याटेगोरी : रोचक
प्रतिक्रिया