Techie IT
Samayabaddha
बुधबार, २१ फागुन, २०८१

जेलेन्स्कीसँगको झगडापछि ट्रम्पले गरे युक्रेनलाई दिएको सैन्य सहायता स्थगन


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सैन्य सहायता स्थगित गरेका छन् । उनले किएभलाई रुससँग शान्ति वार्तामा सहमत हुन दबाब दिएका छन् र युरोपलाई आफ्नो रक्षा बढाउन आठ खर्ब युरोको योजना सार्वजनिक गर्न प्रेरित गरेका छन् ।

यो कदम युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र ट्रम्पबीचको आश्चर्यजनक सार्वजनिक झडपको केही दिनपछि आएको हो । ट्रम्पले युद्धलाई चाँडै अन्त्य गर्न खोजिरहेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले अमेरिका–युक्रेन सहायता निलम्बन ‘शान्तिका लागि सबैभन्दा राम्रो योगदान’ हो भन्दै यसले किएभ शासनलाई शान्ति प्रक्रियामा धकेल्न सक्ने बताए । अमेरिकी हतियारहरुको आपूर्तिमा कुनै पनि अवरोधले युद्ध क्षेत्रमा युक्रेनको रुसी आक्रमणलाई पछाडि धकेल्ने सम्भावनालाई तुरुन्तै कमजोर बनाउनेछ ।

यसअघि सोमबार पत्रकारहरुले सोधपुछ गर्दा ट्रम्पले रोक लगाउन अस्वीकार गरेका थिए । तर ह्वाइट हाउसका एक अधिकारीले नाम नछाप्ने सर्तमा सहायता रोकिने बताए । “राष्ट्रपतिले आफू शान्तिमा केन्द्रित रहेको स्पष्ट पारेका छन् । हामीलाई हाम्रा साझेदारहरु पनि त्यो लक्ष्यप्रति प्रतिबद्ध हुन आवश्यक छ”, ह्वाइट हाउसका अधिकारीले सोमबार बेलुका भने, “यसले समाधानमा योगदान गरिरहेको छ भनेर सुनिश्चित गर्न हामी हाम्रो सहायता रोकिरहेका छौँ र समीक्षा गर्दैछौँ ।”

युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयनले केही घण्टापछि युरोपको रक्षाका लागि करिब आठ खर्ब युरो जुटाउने र युक्रेनलाई ‘तत्काल’ सैन्य सहयोग उपलब्ध गराउन सहयोग गर्ने पाँच भागको योजना प्रस्तुत गरे ।

“यो युरोपका लागि एक मत्वपूर्ण समय हो र हामी तयार छौँ”, लेयेनले ब्रसेल्समा मंगलबार बिहान घोषणा गर्दै भने । निलम्बनपछि बेलायतले पनि युक्रेनलाई आफ्नो समर्थन गर्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री किर स्टार्मरले युक्रेनमा शान्ति सुनिश्चित गर्न ‘लेजर–केन्द्रित’ भएको उनका सहायक एन्जेला रेनरले बताए ।- एएफपी


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट