शिक्षक महासंघले शनिबार काठमाडौंमा विरोधसभा गर्ने

काठमाडौं, २२ फागुन । नेपाल शिक्षक महासंघले आगामी शनिबार काठमाडौंमा वृहत् जुलुस तथा विरोधसभा आयोजना गर्ने घोषणा गरेको छ। महासंघले विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्नको लागि राज्यलाई बाध्य पार्न वृहत् जुलुस तथा विरोधसभा आयोजना गर्न लागेको जनाएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले फागुन २४ गते शनिबार दिउँसो १ बजे माइतीघर मण्डलामा विरोध कार्यक्रम आयोजना हुने जानकारी दिए। उनका अनुसार त्यस लगत्तै फागुन २५ गते राष्ट्रिय समितिको बैठक बस्नेछ। त्यसैले सबैलाई उपत्यकाबाहिर रहेका शिक्षकहरूलाई आन्दोलनमा आउन आग्रह गरिएको छ।
‘२०८१ फागुन २४ गते काठमाडौंको माइतीघर मण्डलामा वृहत् प्रदर्शन हुने कुरा सबैमा विदितै छ, त्यस लगत्तै फागुन २५ गते राष्ट्रिय समितिको बैठक बस्नेछ, यी कार्यक्रमको तयारी तथा सहभागिताका लागि शीघ्रातीशीघ्र काठमाडौं आइपुग्न राष्ट्रिय समितिका सबै पदाधिकारी तथा सदस्य, आबद्ध÷सम्बद्ध संस्थाका अध्यक्ष तथा महासचिव एवं सल्लाहकारहरूमा अनुरोध गरिन्छ,’पत्रमा उल्लेख छ।
शिक्षकहरूले २०८० असोज ३ गतेदेखि सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० विरूद्ध असन्तुष्टि जनाउँदै काठमाडौं माइतीघर मण्डलामा शक्ति प्रदर्शन गरेका थिए।
देशभरका शिक्षकहरूले सामुदायिक विद्यालय नै बन्द गरेर काठमाडौं आएर झण्डै दुई सातासम्म विरोध प्रदर्शन गरेपछि सरकार बाध्य भएर छलफलमा बोलाएर विभिन्न सहमति गरेपछि आन्दोलन रोकिएको थियो।
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया