सुख्खा मौसममा डढेलोबाट बचौँ

सम्पादकीय
हरेक वर्ष सुख्खा मौसममा नेपालका वन जंगलमा डढेलोबाट धेरै जन, धनको क्षती हुने गरेको छ । डढेलो वा जंगलको आगो जंगलको दहनशील वनस्पति भएको एक क्षेत्रबाट सुरु हुने अनियोजित, अनावश्यक र अनियन्त्रित आगो हो । डढेलो लागेपछि वन क्षेत्रभित्र रहेका सबै रुख, बिरुवा, जीव, जनावर, अमूल्य जडिबुटी आदि प्रभावित हुन्छन् । जंगल क्षेत्रभित्र रहेका रुख तथा पातपतिङ्गरहरु सुकेको अवस्थामा रहँदा सतहको माटोमा पानीको कमी र आद्रता न्यून भएको समयमा डढेलो लाग्ने सम्भवाना अत्यधिक हुन्छ । नेपालमा यतिबेखेर सुखा हिउँदे मौसम छ । रुख बिरुवाले पुरानो पात फेरेर नयाँ पालुवा हाल्ने भएकाले जंगलमा पतिङ्गलको डङ्गुर लाग्ने गरेको छ । सुकेका पातपतिङ्गरले आगोको झिल्का चाँडै पक्रन सक्ने भएकाले यो डढेलोको उच्च जोखिमयुक्त समय हो ।
बटुवा र गोठालाले जंगलमा चुरोट, बिँडी लगायतका धुम्रपान गर्दा र जंगलामा डढेलो लगाउँदा घाँस राम्रोसँग पलाउँछ भन्ने गलत मानसिकता राखेर डढेलो लगाउने गरेको पाइन्छ । जंगलमा लागेको डढेलोको लप्काले जंगल नजिकै भएका घर तथा गोठमा आगलागी हुन पनि सक्ने भएकाले सुख्खा मौसममा निकै सचेत हुन जरुरी छ ।
जिल्लास्थित नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी, वन उपभोक्तासँग मिलेर डढेलो नियन्त्रणका लागि संयुक्त अभ्यास तथा जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न सक्नु डढेलो लाग्न नदिने कार्य हुन् । यसकासाथै सर्वसाधारण नागरिकलाई डढेलो लाग्नबाट जोगाउने सम्बन्धी जनचेतना दिइनु अनिवार्य छ । यस्तै, डढेलो लागेको खण्डमा त्यसलाई नियन्त्रण गर्न आवश्यक तालिम, सुरक्षाका उपाय, उपकरण वितरण, सूचना र सहयोग आदानप्रदान कसरी गर्ने भन्नेबारे जानकारीसमेत दिनु अपरिहार्य छ ।
प्राकृतिक कारणहरु जस्तैः आकाशीय चट्याङ खसेर वा प्राकृतिक रुपले वनजंगलमा उत्पन्न घर्षणको कारणले पनि डढेला लाग्न सक्छ । डढेलो लाग्ने कारणको सर्वेक्षणको तथ्याङ्क अनुसार ५० प्रतिशत भन्दा बढी डढेलो मानिसको लापरवाही, असावधानी तथा नियतवश गरिने गरिएको पाइन्छ । एक पटक आगोको झिल्का वनक्षेत्र भित्र रहेको सुकेको झाङमा लागेपछि उग्र भएर आगो हावाको प्रभावमा तीव्र गतिले फैलने गर्छ ।
डढेलो अन्य आगलागीभन्दा भिन्न प्रकृतिको हुने गर्दछ, जसका कारण यसको विशाल आकार, यसको उद्गम स्थानदेखि आगो फैलिने गति र यसको दिशा परिवर्तन वा खाली ठाउँ जस्तै सडक, नदी आदिलाईसमेत उछिनेर अगाडि बढ्न सक्ने क्षमता राख्छ ।
डढेलोको समस्या मुख्यतया ग्रीष्म ऋतुमा हुने गर्दछ र विश्वका धेरैजसो भू–भागमा यो समस्या धेरै सामान्य हो । युरोपको ग्रिस, अस्ट्रेलिया, अमेरिकाको क्यालिफोर्निया, ब्राजिलको अमेजन क्षेत्रमा वर्षेनी अत्याधिक मात्रामा डढेलो लाग्ने गर्छ । नेपालमा समेत डढेलो प्रमुख समस्याको रुपमा रहेको छ । डढेलोका कारण वस्तुभाउ, जंगली जनावर सखाप हुने, जैविक विविधतामा असर पुग्ने, मानिसको स्वास्थ्य स्थिति र वातावरणमा ठूलो असर पर्ने गरेको छ । डढेलोको कारण मुख्यतया वन क्षेत्रमा रहेका साना बिरुवा, घस्रिने तथा छिटो दौडन नसक्ने जनावरलाई बढी क्षति हुने गरेको छ ।
त्यसैले डढेलो लाग्ने क्रम नियन्त्रण तथा जनचेतना अभियान विशेषतः स्थानीय सरकाले सञ्चालन गर्न जरुरी छ । सामुदायिक वन तथा निजी वन क्षेत्रमा डढेलोका घटना नियन्त्रणका लागि संयुक्त अभ्यास र जनचेतना अभिवृद्धिका कार्यक्रम सुरु गर्न जिल्ला डिभिजन वन कार्यालयको प्रमुख अग्रसरता हुनुपर्छ ।
जिल्लास्थित नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी, वन उपभोक्तासँग मिलेर डढेलो नियन्त्रणका लागि संयुक्त अभ्यास तथा जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न सक्नु डढेलो लाग्न नदिने कार्य हुन् । यसकासाथै सर्वसाधारण नागरिकलाई डढेलो लाग्नबाट जोगाउने सम्बन्धी जनचेतना दिइनु अनिवार्य छ । यस्तै, डढेलो लागेको खण्डमा त्यसलाई नियन्त्रण गर्न आवश्यक तालिम, सुरक्षाका उपाय, उपकरण वितरण, सूचना र सहयोग आदानप्रदान कसरी गर्ने भन्नेबारे जानकारीसमेत दिनु अपरिहार्य छ ।
डढेलो बढी लाग्ने सम्भावित स्थानको पहिचान गरेर ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउन स्थानीय सञ्चारमाध्यमहरु जस्तैः पत्रपकिका, रेडियो, टेलिभिजन, अनाइन सञ्चारमाध्यम र सामजिक सञ्जालको सही प्रयोग गर्न सकेको खण्डमा डढेलोबाट हुन सक्ने क्षती न्यूनिकरण सकिने छ ।
क्याटेगोरी : बिचार
प्रतिक्रिया