ट्रम्प–जेलेन्स्की बहसः अमेरिकी नीतिको पुनरावलोकन र नेपालका लागि आत्मनिर्भरताको पाठ

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीचको हालैको वार्ताले अन्तर्राष्ट्रिय कूटनीतिको नयाँ समीकरण संकेत गरेको छ । युक्रेन–रुस युद्धका कारण पश्चिमाहरूको ध्यान तानिएको वर्तमान अवस्थामा अमेरिकी नीतिमा देखिएको सम्भावित परिवर्तनले नेपाल जस्ता साना राष्ट्रहरूको लागि गम्भीर शिक्षा दिएको छ ।
युद्धग्रस्त युक्रेन र अमेरिकाबीच बढ्दो तनाव तथा असहमतिको बीचमा भएको यो वार्ताले अमेरिका र उसका सहयोगी राष्ट्रहरूबीचको सम्बन्धमा आएको परिवर्तनलाई झल्काएको छ । ट्रम्पको राष्ट्रवादी नीति र जेलेन्स्कीको सुरक्षासम्बन्धी चिन्ताबीचको द्वन्द्वले कमजोर राष्ट्रहरू कसरी ठूला शक्ति राष्ट्रहरूको खेलमा मोहरा बन्छन् भन्ने कुरालाई पुनः पुष्टि गरेको छ ।
अमेरिकी स्वार्थ र युक्रेन
अमेरिकाले सधैं आफ्ना रणनीतिक स्वार्थअनुसार नीति निर्धारण गर्ने गरेको छ । ट्रम्पले युक्रेनको प्राकृतिक स्रोतहरू—लिथियम, युरेनियम र ग्यासप्रति चासो देखाउँदै अमेरिकाले यी स्रोतहरूमा पहुँच चाहेको खुलेरै बताएका थिए । युक्रेनको कमजोर अवस्थाको फाइदा उठाउँदै ट्रम्पले आफ्नो स्वार्थ पूरा गर्न खोजे । तर, जेलेन्स्कीले युक्रेनको सुरक्षा प्रत्याभूति पाउन नसकेपछि सम्भावित सम्झौता असफल भयो ।
ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध उक्साहट गर्ने नेता भनेर टिप्पणी गरेपछि यो वार्ता थप विवादास्पद बन्यो । यसले स्पष्ट पार्छ कि अमेरिकाले आफ्ना स्वार्थहरू प्राथमिकतामा राख्छ न कि आफ्ना साझेदारहरूका आवश्यकताहरू । युक्रेनलाई अमेरिकाले पूर्ण रूपमा समर्थन गर्ने भन्ने विश्वास गलत सावित हुन पुगेको छ ।
यो घटनाक्रमले अमेरिकाको प्राथमिकता स्पष्ट पार्छ—उसले आफ्ना स्वार्थअनुसार कमजोर राष्ट्रहरूसँग व्यवहार गर्छ । यो कुरा नेपालसँग एमसीसी लगायतका रणनीति सम्झौतामा पनि लागू हुन्छ । एमसीसी अमेरिकासँग गरेर सहयोग लियौं, अब चीनसँग बीआरआई गरेर सहयोग मागौं र भारतसँग पनि मागौं भन्ने भिख मागेर देश निर्माण गर्ने दृष्टिकोण नै खोटपूर्ण छ ।
नेपालको सन्दर्भमा हेर्दा अमेरिकी नीति र उसको कूटनीतिक चासोहरू नेपालमा पनि परिवर्तनशील छन् । नेपालले यस्ता अन्तर्राष्ट्रिय रणनीतिहरू बुझ्न आवश्यक छ । ताकि, भविष्यमा विदेशी दबाबबाट जोगिन सकियोस् ।
नेपालका लागि आत्मनिर्भरताको पाठ
ट्रम्पको “अमेरिका फर्स्ट” नीतिले देखाएको छ कि अमेरिका आफ्ना स्वार्थका लागि जुनसुकै बेला आफ्ना साझेदारहरूलाई पनि त्याग्न सक्छ । युक्रेनमाथि देखिएको अमेरिकी नीतिको अस्थिरताले नेपाल जस्ता साना राष्ट्रहरूलाई विदेशी सहायता र कूटनीतिक प्रभावबाट जोगिन थप सजग हुनुपर्छ ।
नेपालले निम्न उपायहरू अवलम्बन गर्न आवश्यक देखिन्छः
राजनीतिक स्थिरता र राष्ट्रियता बलियो बनाउने
लोकतन्त्र सुदृढ गर्नेः नेपालले आन्तरिक लोकतन्त्रलाई बलियो पार्दै सबै उत्पीडित वर्ग, समुदायलाई समान अवसर र अधिकार सुनिश्चित गर्नुपर्छ ।
स्वतन्त्र विदेश नीतिः नेपालले विदेशी शक्तिहरूबाट निर्देशित नभई आफ्नो स्वतन्त्र विदेश नीति निर्माण गर्नुपर्छ ।
आर्थिक आत्मनिर्भरता
नेपाललाई विदेशी सहायता र लगानीको अनावश्यक निर्भरता हटाएर दीर्घकालीन आर्थिक विकासमा केन्द्रित हुनुपर्छ ।
जलविद्युत्ः नेपाललाई ऊर्जा निर्यात गर्ने शक्ति राष्ट्रको रूपमा विकास गर्नुपर्छ । युक्रेनसँग पर्याप्त प्राकृतिक स्रोत भए पनि सुरक्षा प्रत्याभूतिको अभावले उसको शक्ति उपयोग हुन सकेको छैन । नेपालले यस्तै अवस्थाबाट जोगिन ऊर्जा सुरक्षामा जोड दिनुपर्छ ।
कृषि र पर्यटनः कृषि उत्पादन वृद्धि गर्न आधुनिक प्रविधिको उपयोग गर्नुपर्छ । साथै, नेपालका सांस्कृतिक र प्राकृतिक सम्पदाहरूलाई प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आर्थिक वृद्धिको मेरुदण्ड बनाउनुपर्छ ।
विदेशी सहायताः निर्भरता होइन, उत्प्रेरक बनाउनेः नेपालले विदेशी सहायता लिने तर त्यसलाई आफ्नै दीर्घकालीन योजनाअनुसार उपयोग गर्नुपर्ने हुन्छ । दातृ राष्ट्रहरूमा पूर्ण निर्भर रहँदा युक्रेनजस्तै कठिन परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ ।
तटस्थता र रणनीतिक स्वतन्त्रता
नेपालले विश्व शक्ति केन्द्रहरूसँग सन्तुलित कूटनीति कायम राख्दै आफ्नो स्वायत्तता जोगाउनुपर्छ ।
गुटनिरपेक्ष नीतिः नेपालले कुनै पनि सैन्य गठबन्धनमा नजाने र सन्तुलित विदेश नीति अपनाउने रणनीति लिनुपर्छ ।
छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्धः भारत, चीन, अमेरिका, र युरोपियन राष्ट्रहरूसँग दीर्घकालीन रणनीतिक सोचका साथ सम्बन्ध बनाउनु अपरिहार्य छ ।
स्वतन्त्र रक्षा नीतिः विदेशी शक्तिहरूको हस्तक्षेप बिना नेपालले आफ्नो रक्षा नीति बलियो बनाउनुपर्छ । नेपालले आफ्नै सैन्य क्षमताको विकास गर्नुपर्छ ताकि बाह्य दबाबको सामना गर्न सक्षम बनोस् ।
र, अन्त्यमा,
ट्रम्प–जेलेन्स्की वार्ताले एकपटक फेरि पुष्टि ग¥यो, कमजोर राष्ट्रहरूले आफ्नो भविष्य आफैं बनाउनु पर्छ । युक्रेनलाई विदेशी सहायता र सुरक्षा प्रत्याभूतिको आशाले अस्थिर बनाएको छ ।
नेपालले आफ्नो आर्थिक, राजनीतिक र कूटनीतिक नीति आत्मनिर्भरतामा केन्द्रित गरे मात्र भविष्य सुरक्षित बनाउन सक्छ । युक्रेनले जस्तो गल्ती नगरी नेपालले विदेशी सहायता र प्रभावबाट मुक्त भएर राष्ट्रिय हितलाई प्राथमिकता दिनु आवश्यक छ । आत्मनिर्भर नेपाल मात्र बाह्य हस्तक्षेपबाट सुरक्षित रहन सक्छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया