काठमाडौंमा आज र भोलि श्रम तथा रोजगार सम्मेलन

काठमाडौं । सरकारले देशको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने नारासहित आज र भोलि काठमाडौंमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्दैछ ।
आन्तरिक रोजगारको सम्भावना पहिल्याउन र व्यवस्थापनका लागि ठोस राय सुझाव प्राप्त गर्ने उद्देश्यले सम्मेलन आयोजना हुन लागेको हो ।
वैदेशिक रोजगारीका क्षेत्रमा देखापरेका चुनौतीको विश्लेषण गरी आगामी नीतिगत र कानूनी परिमार्जनका लागि सुझाव लिने र श्रम तथा रोजगारयोग्य वातावरण सिर्जना नीतिगत र कानूनी व्यवस्थाका लागि सम्मेलनमा सुझाव प्राप्त हुने श्रम मन्त्रालयको विश्वास छ ।
सम्मेलनमा रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड यूनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्तारविज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी करिब पाँच सय जनाको सहभागिता रहने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।
नेपालको रोजगारीको क्षेत्रमा देखापरेका सङ्कुचनको समाधान, वर्षेनि श्रम बजारमा थपिने नयाँ श्रमशक्तिलाई रोजगारमूलक सेवा प्रदान गर्न र नयाँ रोजगारीको क्षेत्र पहिचान तथा व्यवस्थापन गर्न आवश्यक नीति र कार्यक्रम तर्जुमाका लागि ठोस राय सुझाव प्राप्त गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको मन्त्रालयको भनाइ छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया