राप्रपाले काठमाडौं महानगरलाई बुझायो एक लाख रुपैयाँ जरिवाना

काठमाडौं, २६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ ।
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा तस्बिरसहित लेखेका छन्, ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौँ । राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् । महानगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौँ, रु १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौ ।’
महानगरले हिजो पठाएको पत्रमा पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एअरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र त्यसमा रहेका बिरुवाहरु साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको उल्लेख गर्दै एक लाख रुपैयाँ जरिवाना तिर्न पत्र काटेको थियो ।
महानगरले फोहोरमैला व्यवस्थापन ऐन,२०६८,काठमाण्डौ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिवाना तोकिएको थियो ।
राप्रपाले हिजो पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किँदा स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशाला क्षेत्रमा प्रदर्शन गरेको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया