Techie IT
Samayabaddha
शुक्रबार, ३० फागुन, २०८१

पाकिस्तान रेल बन्धक प्रकरण: सेनाको कारबाही ‘सम्पन्न’, मृतकको सङ्ख्या कम्तीमा ५८


एजेन्सी, २९ फागुन । दक्षिणपश्चिम पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरू कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक बनाइएकामध्ये कम्तीमा ३०० जना मुक्त भएका र उनीहरूको उद्धारका लागि सञ्चालित कारबाही सम्पन्न भएको पाकिस्तानी सेनाले जनाएको छ।

पाकिस्तानको सेनाका प्रवक्ताले सुरक्षा कारबाहीमा कम्तीमा ३३ लडाकु मारिएको दाबी गरेका छन्। बलोच लिबरेशन आर्मी (बीएलए) ले रेलमा आफूले आक्रमण गरेको दाबी गरेको छ। यद्यपि पाकिस्तानी सेनाले उक्त घटनाका योजनाकारहरू अफगानिस्तानमा रहेको आरोप लगाएको छ।

पाकिस्तानी सेनाका अनुसार आक्रमणकारीहरूविरुद्ध सुरक्षा कारबाही सुरु हुनुअगाडि नै रेलमा सवार २१ सर्वसाधारण र चार सैनिकको मृत्यु भएको थियो। मङ्गलवार क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा बीएलएका लडाकुले गोली प्रहार गर्दै यात्रुहरूलाई आफ्नो नियन्त्रणमा लिएका थिए। उक्त रेलमा करिब ४४० यात्रु सवार रहेको सैन्य प्रवक्ताले बताएका छन्। सेनाले उक्त क्षेत्रमा अन्य जोखिम भए नभएकोबारे जाँच गरिरहेको जनाएको छ।

अङ्ग्रेजी पत्रिका ‘डन’ का अनुसार पाकिस्तानी सेनाले उक्त घटना अफगानिस्तानभित्र रहेका लडाकुहरूले गराएको आरोप लगाएको छ। पाकिस्तानको गुप्तचर निकायले आफूसँग उक्त आक्रमणका योजनाकारहरू अफगानिस्तानमा रहेको कुरा पुष्टि गर्ने ‘अकाट्य प्रमाण’ रहेको जनाएको छ।

पाकिस्तानी पक्षले तालिबानलाई आफ्ना ‘अन्तर्राष्ट्रिय उत्तरदायित्व’ वहन गर्न आह्वान गरेको छ। पाकिस्तानले यसअघि आफ्नो भूमिमा भएका केही आक्रमणमा तालिबानको संलग्नता भएको आरोप लगाउने गरेको थियो।

सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमले उक्त रेलबाट केही लडाकुहरूले बन्धकहरू समेत लिएर वरपरको पहाडी भूभागतिर गएको विवरण प्रकाशित गरेका छन्।

आक्रमणका समयमा वरपरको क्षेत्रमा भागेका यात्रुहरूको खोजी भइरहेको पाकिस्तानी सेनाले जनाएको छ। कति यात्रुहरू सम्पर्कविहीन छन् भन्नेबारे स्पष्ट हुन नसकेको अधिकारीहरूले बताएका छन्।

बलोच विद्रोहीहरूले किन रेललाई निसाना बनाए ?

बीएलए पाकिस्तानको सत्तालाई चुनौती दिने विद्रोही सङ्गठन हो। उक्त समूहले बलोचिस्तानको स्वतन्त्रता माग गर्दै आएको छ।

स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार बलोच लडाकुहरूले राजनीतिक बन्दी बनाइएका आफ्ना लडाकुलाई ४८ घण्टाभित्र मुक्त नगरिए सबै बन्धकको हत्या गर्ने चेतावनी दिएका थिए।

पाकिस्तानी सेनाका एक वरिष्ठ अधिकारीले बीबीसीसँग कुरा गर्दै उक्त रेलमा १०० भन्दा बढी सैनिक चढेको पुष्टि गरेका थिए।

यसअघि पनि विद्रोहीहरूले सार्वजनिक सवारीसाधनलाई निसाना बनाउँदै आएका थिए। गत नोभेम्बर महिनामा क्वेटास्थित रेल्वे स्टेशनको एउटा प्रतीक्षालयमा बम विस्फोट हुँदा एक आत्मघाती आक्रमणकारीसहित २५ जनाको मृत्यु भएको थियो। बीएलएले उक्त घटना आफूले गराएको दाबी गरेको थियो।

अगस्ट महिनामा लडाकुहरूले बलोचिस्तान प्रान्तस्थित एउटा राजमार्गमा बस र ट्रकबाट मानिसहरूलाई बाहिर निकालेर परिचयपत्र जाँच्दै गोली हानेको विवरण आएको थियो। उक्त घटनामा कम्तीमा ३९ जनाको ज्यान गएको थियो।

बीएलएले सर्वसाधारण मानिसको भेषमा यात्रा गरेका सैनिकहरूलाई आफूले निसाना बनाएको दाबी गरेको थियो।

बलोचिस्तान लिबरेशन आर्मीबारे हामीलाई के थाहा छ ?

यूके र अमेरिकालगायत कैयौँ पाश्चात्य देशहरूले यो समूहलाई ‘अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन’ मानेका छन्।

सन् १९६४ मा सिरियामा स्थापना भएको बीएलएफ सुरुमा इरानी बलोच विद्रोहमा संलग्न भयो। इरानी बलोचहरूले त्यहाँको सरकारविरुद्ध विद्रोह गरेका थिए।

पाँच वर्षको द्वन्द्वपछि इरानको शाहविरुद्ध जारी विद्रोह वार्तामार्फत् अन्त्य भयो। लगत्तै अन्य बलोच सङ्गठनहरूसँगै बीएलएफले पनि पाकिस्तान सरकारविरुद्ध गतिविधि गर्न थाल्यो।

यी सङ्गठनहरूले सन् १९७० दशकदेखि अफगानिस्तानमा शरण लिएर गतिविधि गर्दै आइरहेका छन्। पछिल्ला वर्षहरूमा बीएलएले आक्रमणहरू तीव्र बनाएको छ। उसको निसाना पाकिस्तानी सुरक्षा निकायहरूबाट मोडिएर बलोचिस्तानमा सञ्चालित परियोजनामा कार्यरत चिनियाँ नागरिकहरूप्रति लक्षित हुन थालेको देखिएको छ।

अरू विद्रोही समूहसँग धेरै समानता भए पनि बीएलएफले चाहिँ बलोचिस्तानका ग्यास परियोजनाहरू, पूर्वाधारहरू र सुरक्षा चौकीहरूलाई निसाना बनाउँदै आएको छ।

यो समूहले सन् २०११ देखि पाकिस्तानी सुरक्षा निकाय, विदेशी कामदार, सरकारी मानिसहरू र पत्रकारमाथि आक्रमण गर्दै आएको छ।

बलोचिस्तान कहाँ छ ?

बलोचिस्तानको सबैभन्दा ठूलो भूभाग दक्षिणपश्चिमी पाकिस्तानमा पर्छ। यो प्रान्तले पाकिस्तानको कुल भूभागको ४१ प्रतिशत भाग ओगटेको छ। तर देशको २४ करोड जनसङ्ख्यामध्ये यो ठाउँमा जम्मा ६५ मानिस मात्रै बसोबास गर्छन्।

यहाँको इतिहास गृहयुद्ध, आतङ्कवाद र मानवाधिकार उल्लङ्घनका घटनाहरूका कारण धूमिल छ। बलोचिस्तानको सीमा अस्थिरताको सामना गरिरहेको इरान, तालिबानको नियन्त्रण रहेको अफगानिस्तानसँगै अरब सागरको तटीय क्षेत्रसँग पनि जोडिएको छ।

यो क्षेत्रको नाम यहाँ सयौँ वर्षदेखि बसोबास गर्दै आएका बलोच आदिवासीहरूको नामबाट रहेको हो। बलोचहरू पश्तुनहरूपछि सबैभन्दा धेरै जनसङ्ख्या भएका आदिवासी हुन्। कैयौँ बलोचहरू छिमेकी इरान र अफगानिस्तानका प्रान्तहरूमा पनि बस्दै आएका छन्।

ग्यास र खनिज पदार्थजस्ता प्राकृतिक स्रोतका हिसाबले बलोचिस्तान पाकिस्तानको सबैभन्दा धनी प्रान्त हो। चीनको अनुदानमा बनिरहेको अर्बौँ लगानीको परियोजना ‘चाइना पाकिस्तान ईकोनमिक कोरिडोर’ पनि यही क्षेत्रमा छ।

यो परियोजना चिनियाँ राष्ट्रपति सी जिन्पिङले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिशटिभ’ को एक अङ्ग हो। यसअन्तर्गत ओमानको खाडीनजिक ग्वादरमा बन्ने बन्दरगाह महत्त्वपूर्ण ‘चेकपोइन्ट’ बन्ने ठानिएको छ। यो प्रान्तमा चीनले पनि खानीसम्बन्धी परियोजनाहरू सञ्चालन गरिरहेको छ।

साथै ग्वादरमा चीनले बनाउँदै गरेको अन्तर्राष्ट्रिय विमानस्थलको पाकिस्तानका विद्रोही समूहहरूले खरो विरोध गर्दै आएका छन्।

बलोचिस्तानमा बन्दै गरेको तामा र सुनका लागि विश्वकै सबैभन्दा ठूलो खानी हुने भनिएको ुरेको डिगुमा क्यानडाको खानी सञ्चालन गर्ने कम्पनी ‘ब्यारक गोल्ड’ को ५० प्रतिशत स्वामित्व छ। बीबीसीबाट


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट