Techie IT
Samayabaddha
शुक्रबार, ३० फागुन, २०८१

युक्रेनसँगको युद्धविरामका लागि रुसको विभिन्न सर्त


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामका लागि सकारात्मक भएको तर केही सर्तहरु रहेको बताएका छन् ।

अमेरिकासँगको वार्तामा युक्रेनले ३० दिने युद्धविरामको योजनामा सहमत जनाएको सन्दर्भमा रुसको जवाफ आएको हो ।

पुटिनले युद्धविरामको विचारसँग सहमत भएको तर यसबारे केही सर्तहरू राख्दै युद्धविरामको प्रकृतिको बारेमा प्रश्नहरू बाँकी रहेको बताएको बीबीसीले जनाएको छ । युद्धविरामले स्थायी शान्ति निम्त्याउनु पर्ने र युद्धको मूल कारणहरू दिगो रुपमा हटाउनु पर्ने पुटिनको भनाइ छ ।

विवादको मुख्य कारण युक्रेनले गएको वर्ष रूसको कुर्स्क क्षेत्रमा सैन्य आक्रमण सुरू गरेको र केही क्षेत्र कब्जा गरेको रुसको आरोप छ । अहिले यो क्षेत्रलाई पूर्णरुपमा रूसले नियन्त्रणमा लिएको र त्यहाँका युक्रेनी सेनाहरू अलपत्र परेका उनको दाबी छ ।

उनले यसबारे अमेरिकी सहकर्मीहरू र साझेदारहरूसँग वार्ता गर्न आवश्यक रहेकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई छिटै सम्पर्क गर्ने बताए ।

रुसको प्रतिक्रियापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम योजनाप्रति पुटिनको प्रतिक्रियालाई शङ्कास्पद रुपमा व्याख्या गर्दै रुसमाथि थप प्रतिबन्ध लगाउन अमेरिकालाई आह्वान गरेका छन् । उनले रुसले युद्धविराम प्रस्ताव सीधै अस्वीकार गर्दैन तर व्यवहारमा अस्वीकृतिको तयारी गरिरहेको बताएका छन् ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले अमेरिकाले प्रस्ताव गरेको युक्रेनसँगको ३० दिने युद्धविराम अस्वीकार गरेका थिए ।

उनले अस्थायी युद्धविरामले युक्रेनलाई पुनःसङ्गठित हुने मौका दिने भन्दै अस्वीकार गरेका हुन् । उनले पनि रुसले युक्रेनमा दीर्घकालीन शान्ति सम्झौता खोजिरहेको बताएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट