Techie IT
Samayabaddha
शनिबार, १ चैत्र, २०८१

सरकारको आम्दानीभन्दा खर्च बढी


चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत फागुन मसान्तसम्ममा सरकारले ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गर्दा ८ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च भएको छ । अर्थात् दोस्रो चौमासिकसम्ममा सरकारको आम्दानीभन्दा १ खर्ब ५३ करोड ४७ लाख खर्च बढी छ ।

त्यस्तै, यस अवधिमा सरकारको विकास खर्च पनि निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रकको तथ्यांकअनुसार फागुन मसान्तसम्ममा पुँजीगत खर्च वार्षिक विनियोजनको २३ दशमलव ३७ प्रतिशत मात्रै छ । सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन भएकोमा हालसम्म ८२ अर्ब ३३ करोड ६० लाख रुपैयाँबराबर मात्रै खर्च भएको देखिएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको थियो । फागुन मसान्तसम्म वार्षिक विनियोजनको ४५ दशमलव १२ प्रतिशत अर्थात् ८ खर्ब ३९ अर्ब ३५ करोड ६० लाखबराबरको खर्च भएको छ ।

चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा ५१ दशमलव २१ प्रतिशत अर्थात् ५ खर्ब ८४ अर्ब १२ करोड ७८ लाख रुपैयाँ बराबर खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ विनियोजन भएकोमा ४७ दशमलव ०७ प्रतिशत अर्थात् १ खर्ब ७२ अर्ब ८९ करोड २२ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य रहेकोमा हालसम्म ५० दशमलव २ प्रतिशत अर्थात् ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख रुपैयाँ बराबर असुली भएको छ, जसमध्ये कर राजस्वतर्फ १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख विनियोजन भएकोमा ४९ दशमलव ७४ प्रतिशत अर्थात् ६ खर्ब ३८ अर्ब ७९ करोड ९० लाख रुपैयाँ संकलन भएको छ ।

त्यस्तै, गैरकर राजस्वतर्फ १ खर्ब ३५ अर्ब ९ करोड ३४ लाख उठाउने लक्ष्य रहेकोमा हालसम्म ६० दशमलव ३६ प्रतिशत अर्थात् ८१ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ असुली भएको छ । सरकारको वैदेशिक अनुदान संकलन पनि निकै कमजोर छ । चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकोमा हालसम्म वार्षिक लक्ष्यको १७ दशमलव ५१ प्रतिशत अर्थात् ९ अर्ब १६ करोड २५ लाख रुपैयाँ अनुदान लिइएको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट