Techie IT
Samayabaddha
सोमबार, ३ चैत्र, २०८१

रुसी राष्ट्रपति पुटिन ढिलो–चाँडो वार्तामा आउनैपर्छ : बेलायती प्रधानमन्त्री स्टार्मर


बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ढिलो–चाँडो वार्तामा आउनैपर्ने बताएका छन् ।

युक्रेनमा शान्ति सुनिश्चित गर्न आयोजित भर्चुअल बैठकमा बेलायती प्रधानमन्त्री स्टार्मरले विश्वका नेताहरूलाई पुटिन ढिलो–चाँडो वार्ताको टेबलमा आउनुपर्छ भनेका बीबीसीले जनाएको छ । यस्तै उनले विश्वका नेताहरूलाई युक्रेनमा सम्भावित शान्ति सम्झौताको रक्षा गर्न तयार रहन पनि आग्रह गरेका छन् ।

यसअघि बेलायती प्रधानमन्त्री स्टार्मरले रुसी राष्ट्रपति पुटिन शान्तिको बारेमा गम्भीर नभएको आरोप लगाउँदै रुसमाथि दबाव जारी राख्न विश्व नेताहरूलाई आग्रह गरेका थिए । उनले पुटिनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्तावहरूसँग खेल खेल्न अनुमति दिन नसकिने भन्दै आफ्ना समकक्षीहरूलाई युक्रेनका लागि सुरक्षा ग्यारेन्टी प्रदान गर्न आग्रह गरेका छन्।

युक्रेनमा शान्ति सुनिश्चित गर्न आयोजित भर्चुअल बैठकमा युरोपेली साझेदारहरू, ईयू आयोग, नेटो, युक्रेन, क्यानडा र अन्यसहित झन्डै २५ जना नेता उपस्थित रहेका बेलायती प्रधानमन्त्री स्टार्मरको कार्यालय डाउनिङ्ग स्ट्रीटले बताएको छ ।

अमेरिकाले प्रस्ताव गरेको ३० दिने युद्धविरामलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समर्थन गरे पनि रुसी राष्ट्रपति पुटिनले अझै अनुमोदन गरेका छैनन् । अमेरिकी राष्ट्रपति ट्रम्पले आफू सम्झौताका लागि आशावादी रहेको र पुटिनसँग राम्रो र उत्पादक वार्ता भएको बताएका बीबीसीको खबरमा उल्लेख छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट