थाहा नगरपालिकामा असिनापानीसहित आएको हावाहुरीका कारण पुगेको क्षतिको लगत सङ्कलन सुरु

हेटौँडा, ३ चैत । मकवानपुरको थाहा नगरपालिकामा असिनापानीसहित आएको हावाहुरीका कारण विभिन्न वडामा पुगेको क्षतिको लगत सङ्कलन सुरु गरिएको छ । असिनापानीसहित बिहीबार साँझ आएको हावाहुरीले घरगोठसहित तरकारी खेतीका लागि बनाएको टनेलमा क्षति पुर्याएको थियो । थाहा नगरपालिकाका प्रवक्ता हिरेन्द्रकुमार रायमाझीले असिनापानीसहित आएको हावाहुरीले पालिकाका विभिन्न वडामा स्थानीयको घरगोठ र तरकारीबालीमा क्षति पु(याएको लगत विवरण सङ्कलन सुरु गरिएको जानकारी दिए ।
उनले हावाहुरीले क्षति पुर्याएसँगै राहत र उद्धार थालिएको भन्दै असिनापानी र हावाहुरीबाट क्षति पुगेका परिवारलाई क्षतिका आधारमा प्रतिपरिवार ३० हजार रुपियाँसम्म राहत उपलब्ध गराउने थाहा नगर विपत् व्यवस्थापन समितिको बसेको आकस्मिक बैठकले निर्णय गरेको बताए । हावाहुरीका कारण ८६ वटा घरगोठमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ । नगरपालिकाका प्रवक्ता रायमाझीले नगरपालिकाको वडा नं ३ मा ५१ वटा, वडा नं ४ मा २५ वटा र वडा नं ५ मा १० वटा हावाहुरीले घरको छानो उडाएर क्षति पुर्याएको विवरण प्राप्त भएको जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले शनिबार प्रभावित क्षेत्रमा पुगेर त्रिपाल वितरण गरेको छ । यसअघि दामन रेडक्रसका सभापति मनश्याम बस्नेतले हावाहुरीबाट घरगोठ क्षति भएका परिवारलाई तत्कालका लागि राहत स्वरूप दामन रेडक्रस, जिल्ला रेडक्रस र वडा कार्यालयको समन्वयमा ६० थान त्रिपाल उपलब्ध गराइएको बताए ।
हावाहुरीका कारण थाहानगरको घर्तीखोला, डाँडागाउँ, धारापानीलगायतका स्थानका घरगोठको छानो उडाएपछि स्थानीय समस्यामा परेका छन् ।
थाहा नगर कृषि शाखा हावाहुरीसँगै आएको असिनाका कारण टनेल र खेतीपातीमा समेत गरी लाखौँको क्षति पुगेको छ । कृषि शाखाका प्राविधिकबाट कृषि बालीमा पुर्याएको क्षतिको लगत सङ्कलन गर्ने कार्य भइरहेको र असिनाले थाहाको वडा नं ७, ८, ३, ४, ५ र ६ मा क्षति पुर्याएको नगरपालिकाको भनाइ छ ।
क्याटेगोरी : पालिका
प्रतिक्रिया