Techie IT
Samayabaddha
सोमबार, ३ चैत्र, २०८१

भेनेजुएलाका २३८ आप्रवासी अमेरिकाबाट देशनिकाला


एजेनसी, ४ चैत । भेनेजुएलामा सक्रिय एउटा आपराधिक गिरोहका सदस्य भएको आरोप लागेका २०० जनाभन्दा बढीलाई संयुक्त राज्य अमेरिकाबाट एल साल्भाडोरको सुपरम्याक्स बन्दीगृह पठाइएको छ।

एक अमेरिकी न्यायाधीशले उनीहरूलाई देशनिकाला गर्न रोक लगाउने आदेश दिएका थिए। तर सरकारले उनीहरूलाई निष्काशन गर्ने कार्य रोकेन।

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले सामाजिक सञ्जालमा लेख्दै भेनेजुएलाको गिरोह ‘ट्रेन डे आरग्व’  (Tren de Aragua)  का २३८ जना सदस्य र एमएस थर्टीन (MS-13)  नामक अन्तर्राष्ट्रिय गिरोहका २३ जना आफ्नो देशमा आइतवार बिहान आइपुगेको जानकारी दिएका छन्।
अमेरिका र एल साल्भाडोर दुवै देशका अधिकारीहरूले बन्दीहरूको पहिचान खुलाएका छैनन्। उनीहरूले ती व्यक्तिहरू कस्ता अपराधमा थिए भन्नेबारे विस्तारमा केही भनेका छैनन्।

अमेरिकामा एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई २०० वर्षभन्दा पुरानो युद्धकालीन कानुन देखाएर त्यसरी देशनिकाला गर्ने कदम रोक्न आदेश दिएका थिए। तर त्यस बेलासम्म ती व्यक्तिहरूलाई बोकेको विमान उडिसकेको थियो।

सामाजिक सञ्जालमा न्यायाधीशको आदेशलाई इङ्गित गर्दै बुकेलेले त्यो ढिला आएको प्रतिक्रिया दिएका छन्।

के ट्रम्प प्रशासनले अदातलको आदेश अवज्ञा गरेको हो ?

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेको पोस्ट गरेको एउटा भिडिओमा हातखुट्टा सिक्रीले बाँधिएका मानिसहरू लामबद्ध भएको र उनीहरूलाई विमानबाट सशस्त्र अधिकारीहरूले ल्याइरहेको देख्न सकिन्छ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलाइन लेभिटले ट्रम्प प्रशासनले अदालतको आदेशको उल्लङ्घन गरेको अस्वीकार गरिन्।

‘अदालतको आदेशको पालना गर्न यो प्रशासनले अस्वीकार गरेको छैन। कानुनी आधार नरहेको यो आदेश अमेरिकी भूभागबाट बाहिरबाट आएका आतङ्कवादी टीडीएहरूलाई निष्काशन गरिसकेपछि जारी भएको थियो।’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिवार सन् १७९८ ताकाको ‘एलिअन एनमिज एक्टु नामक कानुन सक्रिय बनाउँदै त्यसमा आफूले हस्ताक्षर गरेको घोषणा गरेका थिए। त्यस क्रममा उनले ट्रेन डे आरग्वलाई संयुक्त राज्य अमेरिकाको भूभागमाथि ‘शत्रुतापूर्वक अतिक्रमण गरेको, आक्रमण गर्ने प्रयास गरेका वा चेतावनी दिएको’ आरोप लगाएका थिए।

उनले उक्त गिरोहका सदस्यहरू अमेरिकाविरुद्ध ‘गैरपरम्परागत युद्ध’मा संलग्न रहेका हुनालेद उनीहरूलाई देशनिकाला गरिने बताएका थिए।

यसअघि दोस्रो विश्वयुद्धका बेला अमेरिकामा जापानी मूलका मानिसहरूलाई नियन्त्रणमा लिन उक्त कानुन प्रयोग गरिएको थियो।

अदालतले के भनेको थियो ?

शनिवार साँझ जिल्ला न्यायाधीश जेम्स बोस्बर्गले थप कानुनी बहस आवश्यक रहेको भन्दै ट्रम्पको आदेश अनुसार हुन लागेको देशनिकाला १४ दिन स्थगित गर्ने आदेश दिएका थिए।

वकिलहरूले देशनिकाला गरिएका व्यक्ति सवार विमान उडिसकेको बताएपछि न्यायाधीश बोस्बर्गले मौखिक रूपमा नै ती उडानहरू फिर्ता गर्न आदेश दिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

तर उनको लिखित आदेशमा त्यसबारे उल्लेख गरिएको छैन।

आइतवार अदालतमा दर्ता गराइएको निवेदनमा न्याय मन्त्रालयका वकिलहरूले ती व्यक्तिहरूलाई अमेरिकी भूमिबाट निष्काशित गरिसकिएकाले त्यो आदेश आकर्षित नहुने तर्क गरेका थिए। न्याय मन्त्रालयले त्यसविरुद्ध पुनरावेदन गर्ने जनाएको छ।

ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको अमेरिकी सिभिल लिबर्टिज यूनिअनले अदालतको आदेश उल्लङ्घन भएको हुन सक्ने बताएको छ।

शक्ति पृथकीकरणको अमेरिकी प्रणालीअनुसार सङ्घीय न्यायाधीशको आदेश सरकारी निकायहरूले पालना गर्नुपर्ने हुन्छ। त्यसैले यो घटनाबाट संवैधानिक प्रश्न उठेको छ।

अमेरिकाको आलोचना किन ?

भेनेजुएलाले एलिअन एनमिज एक्ट सक्रिय पार्ने ट्रम्पको कदमबाट ूभेनेजुएलाका आप्रवासीहरूलाई अन्यायपूर्ण ढङ्गमा अपराधीू बनाइएको भन्दै आलोचना गरेको छ। अधिकारवादी संङ्घसंस्थाहरूले पनि स्थापित अभ्यासलाई पाखा लगाउन २२७ वर्ष पुरानो कानुन प्रयोग गरिएको भन्दै ट्रम्पको निन्दा गरेका छन्।

एम्नेस्टी इन्टर्न्याश्नल अमेरिकाले सामाजिक सञ्जाल ुएक्सुमा देशनिकालाको कदम भेनेजुएलाका मानिसप्रति लक्षित ट्रम्प प्रशासनको रङ्गभेदी नीतिको अर्को उदाहरण भएको आरोप लगाएको छ।

एल साल्भाडोरका राष्ट्रपति ट्रम्पका साझेदार हुन्। उनले बन्दीहरूलाई तत्कालै एल साल्भाडोरको कुख्यात बन्दीगृह टेररिजम कन्फाइन्मन्ट सेन्टरमा स्थानान्तरण गरिएको जनाएका छन्।

किन एल साल्भाडोर लगियो ?

उनले ती बन्दीहरूलाई एक वर्षसम्म त्यहाँ थुनामा राखिने भन्दै त्यो अवधि पुनः थप हुन सक्ने सङ्केत गरेका छन्।

निकै कडा सुरक्षाघेरा भएको उक्त बन्दीगृहमा ४०,००० सम्म कैदी राख्न सकिन्छ। त्यहाँ बन्दीहरूसँग दुर्व्यवहार हुने गरेको मानवअधिकारवादी संस्थाहरूले बताउँदै आएका छन्।

अमेरिका र एल साल्भाडोरबीचको पछिल्लो सहकार्यलाई बलियो कूटनीतिक सम्बन्धको सङ्केतका रूपमा हेर्ने गरिन्छ।

पदभार ग्रहण गरेपछि अमेरिकी विदेशमन्त्री मार्को रुबिओले भ्रमण गरेको दोस्रो देश एल साल्भाडोर थियो। त्यस बेला राष्ट्रपति बुकेलेले अमेरिकाले देशनिकाला गरेका व्यक्तिहरूलाई आफ्नो देशको उक्त विशाल बन्दी गृहमा थुनामा राख्न सकिने बताएका थिए। बीबीसीबाट


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट