Techie IT
Samayabaddha
बुधबार, ५ चैत्र, २०८१

‘सगरमाथा संवाद’ को तयारी चुस्त बनाउन प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौं । आउँदो जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने ‘सगरमाथा संवाद’ निर्देशक समितिको पहिलो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकमा कार्यक्रमको समग्र व्यवस्थापन, रूपरेखा, विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखसहित अतिथिहरूको निमन्त्रणा, विज्ञहरूको सहभागिता, सद्भावनादूतको नियुक्ति र निजी क्षेत्रसँगको सहकार्यलगायत विषयमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले सबै क्षेत्रको सहयोग र सहभागिता लिई कार्यक्रमलाई विशेष बनाउन आग्रह गरे। उनले कार्यक्रमको तयारी हरेक हिसाबले उत्कृष्ट रूपमा गर्न निर्देशन दिएका छन् ।

सगरमाथा संवाद कार्यक्रम सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सचिवालय सञ्चालनमा आइसकेको छ । सरकारले जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर संवाद आयोजना गर्न लागेको हो ।

यो कार्यक्रममार्फत जलवायु परिवर्तनको मुद्दामा पर्वतीय देशको तर्फबाट अन्तर्राष्ट्रियस्तरमा नेतृत्व गर्न खोजेको नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले बताए । जलवायु परिवर्तनको मुद्दा बोकेर छलफल गर्न खोजिएको सगरमाथा संवादलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेत समेट्ने गरी अगाडि बढिरहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले यो कार्यक्रम गएको माघ ८ गते अन्तर्राष्ट्रिय हिमनदी वर्षका अवसरमा घोषणा गरेका हुन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट