Techie IT
Samayabaddha
सोमबार, १७ चैत्र, २०८१

पत्रकार महासंघले चैत १६ गते पत्रकारहरुको निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गर्ने


काठमाडौं, १३ चैत । नेपाल पत्रकार महासंघले आफ्नो स्थापना दिवसका अवसरमा नसर्ने रोग तथा महिलाको पाठेघरको मुखको स्क्रिनिङ सञ्चालन गर्ने निर्णय गरेको छ छ ।

महासंघ यही चैत १६ गते ७० औं वर्षमा प्रवेश गर्दैछ ।

महासंघ अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा मंगलबार बसेको पदाधिकारी बैठकले स्थापना दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा केन्द्र र उपत्यका बाहिरका जिल्ला शाखाहरुमा नसर्ने रोग तथा महिलाको पाठेघरको मुखको स्क्रिनिङ सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबाट प्रतिवद्धता प्राप्त भए बमोजिम केन्द्रीय कार्यालयमा मन्त्रालयसँग र उपत्यका बाहिरका जिल्ला शाखामा सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयसँगको सहकार्यमा आवश्यक प्रवन्ध मिलाइएको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी गराएका छन् ।

७०औं स्थापना दिवसका अवसरमा केन्द्रीय समितिले यही चैत १६ गते शनिबार बिहान ७ बजे सिनामंगल चोकबाट सञ्चारग्रामसम्म प्रभातफेरी गर्ने र बिहान ९ बजेदेखि १ बजेसम्म महासंघ केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण गर्ने तय भएको महासचिव दाहालले बताए । स्वास्थ्य परीक्षणमा बिएमआर्इ, उच्च रक्तचाप, मधुमेह, मृगौला, पाठेघरको मुखको स्क्रिनिङलगायत हुने छन् ।

केन्द्रीय कार्यालयमा हुने परीक्षणमा उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेश समितिका साथै काठमाडौं, ललितपुर र भक्तपुर शाखा, प्रतिष्ठान शाखाहरु र एसोसियट संस्थामा आवद्ध सदस्यहरुले भाग लिन पाउने छन ।

उपत्यका बाहिरका जिल्ला शाखाहरुमा हुने परीक्षणमा जिल्ला शाखाका साथै शााखाको जिल्लामा रहेका प्रदेश समितिमा आवद्ध पत्रकारहरुको सहभागिता रहनेछ । यसका अतिरिक्त प्रदेश र शाखाहरुले रचनात्मक कार्यक्रम गरी स्थापना दिवस मनाउने तय भएको महासंघले जनाएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट