दक्षिण कोरियामा इतिहासकै भयानक डढेलो, कम्तीमा २४ जनाको मृत्यु

दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रको जङ्गलमा लागिरहेको डढेलोमा पारी कम्तीमा २४ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा इतिहासकै भयानक डढेलोमा परी २६ जना घाइते भएका र तीमध्ये १२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
डढेलो फैलिँदै गएपछि २३ हजार जनाभन्दा धेरै मानिस घर छोडेर अन्यत्र गएका छन् । आगलागीबाट एक प्राचीन बौद्ध मन्दिर, घर, कारखाना र गाडीहरू जलेर नष्ट भएका छन् । आगलागीबाट ४३ हजार तीन सय ३० एकड जमिन जलेको सरकारको आपत्कालीन प्रतिक्रिया केन्द्रले जनाएको छ ।
यसैबीच आगो निभाउन परिचालन भएको एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । आगलागीबाट झन्डै १७ हजार हेक्टर जङ्गल नष्ट भएको र क्षेत्रफलको हिसाबले यो डढेलो दक्षिण कोरियाको इतिहासमा तेस्रो ठूलो बनेको बीबीसीको खबरमा उल्लेख छ ।
डढेलो निभाउन हजारौं अग्निनियन्त्रक र झन्डै पाँच हजार सैन्य कर्मचारी परिचालन गरिएको छ । साथै कोरियामा तैनाथ अमेरिकी सेनाका हेलिकप्टरहरू पनि प्रयोग भएका छन् ।
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक–सुले आगलागीको सङ्कट अझै गम्भीर रहेको बताएका छन्।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया