निम्न माध्यमिक तहमा शिक्षक भर्नाका लागि दरखास्त आह्वान

काठमाडौं, १४ चैत । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तहका लागि ठूलो संख्यामा शिक्षक नियुक्ति गर्न लागेको छ । आज सूचना प्रकाशित गर्दै आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणीमा शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।
जसमा नेपाली विषयमा एक सय ९, अंग्रेजीमा एक सय ७१, गणितमा एक सय १२, विज्ञानमा एक सय एक, गणित विज्ञानमा ८०, सामाजिकमा १०९, स्वास्थ्य तथा शारीरिक शिक्षामा एक, संस्कृत व्याकरणमा दुई र संस्कृत भाषामा एक गरी कुल ६ सय ८६ जना शिक्षक मागिएको छ ।
उम्मेदवारको न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) वा सोसरहको परीक्षा (कम्तीमा दुई सय पूर्णाङ्क वा ८ क्रेडिट आवर) उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा दश महिना तालिम पूरा गरेको हुनुपर्छ ।
तर, कुनै उम्मेदवारले दुई सय पूर्णाङ्कको शिक्षासम्बन्धी विषय लिई कक्षा १२ वा प्रवीणता प्रमाणपत्र तह अथवा सोसरह परीक्षा उत्तीर्ण गरेको भए तालिम प्राप्त गरेको मानिने आयोगले जनाएको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी वैशाख १२ गतेसम्म दरखास्त दिन सक्ने छन् । उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्छ । बहालवाला स्थायी शिक्षकको हकमा भने उमेरहद नलाग्ने आयोगले जनाएको छ । यससम्बन्धी विस्तृत जानकारी आयोगको वेबसाइटमा राखिएको छ ।
विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस्
क्याटेगोरी : समाचार
प्रतिक्रिया