अखिल क्रान्तिकारीको शिक्षक आन्दोलनप्रति ऐक्यवद्धता

काठमाडौं । नेपाल शिक्षक महासंघको नेतृत्वमा राजधानीमा भइरहेको न्यायपूर्ण आन्दोलनको अखिल क्रान्तिकारीले ऐक्यवद्धता जाहेर गरेको छ । अखिल क्रान्तिकारीले आज एक विज्ञप्ति जारी गरी शिक्षकको आन्दोलनको सफलताको शुभकामना पनि व्यक्त गरेको छ ।
विद्यार्थी भर्नाको समयमा शिक्षकहरु आन्दोलनरत हुँदा नेपालको शिक्षा क्षेत्र अहिले अस्तव्यस्त रहेको भन्दै अखिल क्रान्तिकारीले चिन्ता प्रकट गर्दै शिक्षकहरुका न्यायपूर्ण मागहरुप्रति सरकार गम्भीर बन्न र नयाँ शिक्षा ऐन तत्काल पारित गरी शिक्षकहरुलाई तत्काल विद्यालय फर्कने वातावरण सिर्जना गर्न अखिल क्रान्तिकारीलै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
अखिल क्रान्तिकारीका उपाध्यक्ष सन्दिप पुनद्वारा जारी गरिएको विज्ञप्तिमा नेपाली शिक्षकहरुले वैज्ञानिक, जीवन उपयोगी, निशुल्क र सर्वशुलभ शिक्षा तथा मर्यादित शिक्षण पेशाका निम्ति निकै लामो, कठिन र बलिदानीपूर्ण संघर्ष गर्दै आएको विज्ञप्तिमा स्मरण गरिएको छ ।
विज्ञप्तिमा अहिलेसम्मका सबै सरकारहरुले शिक्षकहरुको आन्दोलन चर्किदै जाँदा आन्दोलनलाई मत्थर पार्ने नियतका साथ शिक्षकहरुका माग पुरा गर्ने तर सरकारले आफैले गरेको सम्झौता लागु नगर्ने क्रम बारम्बार दोहरिएकोले सरकारप्रति शिक्षकको विश्वास गुम्दै गएको बताइएको छ ।
शिक्षक महासंघले चैत्र २० बाट राजधानीमा विभिन्न मागहरु राखी शान्तिपूर्ण प्रदर्शन गर्दै आएका छन् । आज कालो माक्स लगाएर मौन जुलुस र प्रद्धर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ । अहिले शिक्षकहरुले उद्यारो सम्झौतामा नरोकिने र माग पुरा गराएर मात्र आन्दोलन रोक्ने उद्घोष गरेका छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया