Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

आन्दोलनको नवौं दिन शिक्षक र प्रहरीबीच धक्कामुक्की


काठमाडौं । भद्र आन्दोलनको परिचय दिदै आएको नेपाल शिक्षक महासंघको प्रदर्शनमा आज नवौं दिन प्रहरीसँग धक्कामुक्की भएको छ । आन्दोलनरत शिक्षकहरुले माइतीघर मण्डलाबाट बिजुलीबजार–नयाँ बानेश्वर सडकखण्डको तीनवटै लेन कब्जा गर्न खोजेपछि प्रहरीसँग शिक्षकहरुको धक्कामुक्की भएको हो ।

यसअघि प्रहरीले दायाँबायाँका दुई लेनलाई सवारी साधनको लागि खुल्ला राखेर बीचको लेन शिक्षकहरुको प्रदर्शनको लागि छुट्टाएको थियो, जहाँ शिक्षकहरुले प्रदर्शन गर्दै आएका थिए । आन्दोलनको आठौं दिन हिजो बुधबार माइतीघर मण्डलादेखि बानेश्वरको सबै लेन शिक्षकहरुको विशाल प्रदर्शनले ढाकेको थियो ।

 

शिक्षकहरुले आज नवौं दिन पनि पूरै सडक कब्जा गर्न खोजेपछि प्रहरीले सवारी आवागमन सहज बनाउन भन्दै शिक्षकहरुको प्रदर्शनमा हस्तक्षेप गरेको थियो । त्यसक्रममा शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको बताइएको छ ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित चैत २० गतेदेखि सडक आन्दोलन गरिरहेका शिक्षकहरुले सरकार गैरजिम्मेवार बनेको बताउँदै आएका छन । अहिलेसम्म देशभरका सामुदायिक विद्यालयबाट आलोपालो गरी झण्डै दुई लाख शिक्षक आन्दोलनमा सहभागी भएको बताइएको छ ।

सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन पटक पटक आह्वान गर्दै आए पनि वार्ताको वातावरण बनाउन शिक्षक महासंघले सरकारसँग सर्तहरु राख्दै आएका छन् । संसदको विशेष अधिवेशनको आव्हान तथा अध्यादेश जारी गरेर भए पनि मागको सम्बोधन गर्ने संकेत दिए वार्तामा बस्न सकिने सरकारसँग शिक्षकहरुको अडान रहेको छ ।

विगतमा पटक पटक शिक्षकहरूमाथि धोका भएको भन्दै यो पटक विगतको झैँ सहजै सहमति गर्ने प्रयासमा शिक्षकहरू देखिँदैनन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट