Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

सर्लाहीको हरिपुरमा हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित


सर्लाही, २९ चैत । सर्लाहीको हरिपुर नगरपालिका–२, सखुवा गाउँमा जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् ।

तीन वटा जङ्गली हात्तीले दुुई रातदेखि किसानले लगाएको मकै खाइदिने, माँडेर नष्ट गर्ने र घर छेउछाउ आएर आक्रमणको प्रयास गर्ने गरिरहँदा गाउँले आतङ्कित बनेका हुन् । बस्ती नजिकको जानकीनगर वनलाई दिनभर बासस्थान बनाउने र साँझ पर्ने बित्तिकै नजिकको बस्ती तथा बालीनालीमा पसेर हात्तीले नोक्सान पुुर्‍याउँदा त्रास सिर्जना भएको स्थानीय ध्रुवप्रसाद प्रसाईले जानकारी दिए ।

प्रसाईका अनुसार हात्तीले खेतमा सिँचाइका लागि राखिएको विद्युत मिटर समेत उखेलेर फालिदिएका छन् । जङ्गलसँगै जोडिएको मुसहर बस्तीमा छाप्रो बनाएर बसेका मुसहर समुदाय जङ्गली हात्तीका कारण निधाउन सकेका छैनन् ।

शुक्रबार बिहान जनप्रतिनिधि र प्रहरी पुुगेर विवरण सङ्कलन गर्दा हात्तीले सखुवा गाउँका २२ जना किसानको मकैखेती र विद्युतको मिटरमा क्षति गरेको पाइएको छ । हरिपुर नगरपालिका–२ का वडाध्यक्ष निलबिक्रम थापाले २२ जना किसानको करिव तीन बिघामा लगाएको उन्नत जातको मकै खेतीमा हात्तीले क्षति पर्‍याएको पाइएको बताए ।

पटक–पटक आइरहने जङ्गली हात्तीले जानकीनगर वनमा बासस्थान नै कायम गरेर बस्दा गाउँले हिँडडुल गर्न समेत डराएका वडाध्यक्ष थापाले बताए । केही साताअघि मात्रै हरिपुर नगरपालिका–२, को सखुवा, हरिपुर नगरपालिका–१, को हजारबिघा, बरहथवा नगरपालिका–९, को मूर्तिया, लालबन्दी नगरपालिका–१७, को रानिगञ्ज लगायतक्षेत्रमा हात्तीको समूहले घर भत्काउने, बाली नष्ट गर्ने, केराको बोटमा व्यापक क्षति गर्नेजस्ता उपद्रो मच्चाएका थिए ।

पुनः जङ्गली हात्ती फर्किएर आएपछि स्थानीयमा त्रास सिर्जना भएको हो । सर्लाहीमा बारम्बार यसै क्षेत्रमा हात्ती आएर क्षति पुुर्‍याउने गरेका छन् । डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोषकुमार झाले जङ्गली हात्ती यसरी लगातार आइरहँदा सुरक्षितरुपमा जङ्गलतर्फ भगाउनुुबाहेक नियन्त्रणमा लिने अन्य कुनै उपाय नरहेको बताए ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट