Techie IT
Samayabaddha
बिहीबार, ११ वैशाख, २०८२

चारदेशीय ट्वान्टी–२० शृंखला : नेपालले कुवेतबाट पायो १७५ रनको लक्ष्य


काठमाडौं, ३१ चैत । हङकङमा जारी चारदेशीय ट्वान्टी–२० शृंखलाको फाइनल नेपालले कुवेतबाट १७५ रनको लक्ष्य पाएको छ ।

हङकङको मोङ कोकमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको हो ।

कुवेतले बलियो सुरुआत गरे पनि त्यसअनुसार मध्यक्रमका ब्याटरले इनिङ सम्हाल्न नसक्दा विशाल योगफल बनाउन सकेन ।

कुवेतका ओपनर रविजा सन्द्रावरुनले आक्रामक ब्याटिङ गर्दै ६३ रन बनाए । उनले ३६ बलमा ६ चौका र चार छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर क्लिन्टो आन्टोले १४ बलमा एक चौका र तीन छक्कासहित २६ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ४।२ ओभरमा ४९ रनको साझेदारी गर्दै कुवेतलाई बलियो सुरुआत दिलाएका थिए ।

११.५ ओभरमा तीन विकेट गुमाएर १२७ रन बनाएको कुवेतले आशातित फिनिसिङ भने पाउन सकेन । उस्मान पटेलले २३ रन जोड्दा मित भावसरले १६ र कप्तान मोहम्मद अस्लामले १३ रन बनाए ।

नेपालका नन्दन यादव र सोमपाल कामीले समान दुई विकेट लिए । यस्तै, कुशल भुर्तेल र करण केसीले समान एक विकेट हात पारे ।

प्रतियोगितामा नेपाली टिम अपराजित छ । लिग चरणबाट शीर्ष स्थानमा रहँदै फाइनलमा आएको नेपालले तीन खेलबाट पाँच अंक जोडेको थियो । समान खेलबाट चार अंक जोडेको कुवेत दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो ।

यसअघि, लिग चरणमा भएको खेलमा नेपालले कुवेतविरुद्ध ६ विकेटको जित निकालेको थियो ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट