अबको राजनीतिको मूलधार ‘पृथ्वीपथ’ हुनुपर्छ : पूर्वराजा शाह

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा देशवासीलाई सम्बोधन गर्दै “पृथ्वीपथ” लाई अबको राजनीतिको मूलधार बनाउनुपर्ने धारणा राखेका छन् । आइतबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत् उनले जनभावना र चाहनाअनुसार मुलुकको समग्र संरचनामा हेरफेर र सुधार गर्नुपर्ने स्पष्ट देखिएको बताएका छन् ।
पूर्वराजाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले देखाएको आत्मनिर्भर, सन्तुलित कूटनीति र समृद्ध नेपालको परिकल्पनालाई ‘पृथ्वीपथ’ का रूपमा व्याख्या गर्दै यही मार्ग राजनीतिको मूल आधार हुनुपर्ने उल्लेख गरेका छन् ।
उनले भने, “हरेक नयाँ वर्ष नूतन आशा र विश्वास बोकेर आउँछ तर वर्षको अन्त्यमा निराशा बाँकी रहनु विडम्बना हो । अहिले देशभक्तिपूर्ण भावना नेपाली जनतामा बलियो रूपमा देखिएको छ, जुन विश्वमै अनुकरणीय छ ।”
चैत १५ को घटनाप्रति दुःख
गत चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा राजसंस्था पक्षधरको प्रदर्शनमा भएको हिंसा, आगजनी र तोडफोडप्रति उनले दुःख व्यक्त गरे । नागरिक स्वतन्त्रताभन्दा ठूलो कुनै पनि वाद वा तन्त्र नहुने भन्दै उनले संयमित अभिव्यक्तिको आग्रह पनि गरे ।
“हिंसा र आगजनीबाट भएको मानवीय तथा भौतिक क्षति सुन्दा हामी अत्यन्त दुःखी छौं,” उनले भने ।
सुधारको खाँचो
पूर्वराजाले शिक्षा, स्वास्थ्य र प्रशासन प्रणालीमा आमूल सुधार आवश्यक भइसकेको भन्दै सुशासन, भ्रष्टाचारमुक्त शासन र स्थायित्वको आवश्यकता दोहोर्याएका छन् । “हामी अस्थिरता, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौं,” उनले भने ।
उनले देश विकासका लागि विदेशमा रहेका नेपालीलाई एकताको सूत्रमा बाँध्न ढिलाइ गर्न नहुने बताए । “स्वदेश फर्क, स्वदेश नै स्वर्ग भन्ने अभियान आजको आवश्यकता हो,” भन्दै देशमै सीप, पुँजी र स्रोतको उपयोगमा जोड दिए ।
‘जनताको चाहनाअनुसार परिणाम आउने विश्वास’
देशको वर्तमान जटिलताबाट नेपाली जनतालाई मुक्त गरी शान्त, स्थिर र समृद्ध मुलुक निर्माण गर्ने जनजागरण पैदा भइसकेको उल्लेख गर्दै पूर्वराजाले नयाँ वर्ष २०८२ मा जनचाहनाअनुसारको परिणाम आउने विश्वास व्यक्त गरे ।
“राजसंस्थाले सधैँ राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मानेर जनभावनाअनुसार काम गर्दै आएको छ,” उनले भने, “राज्यशक्तिको स्रोत जनता नै हो भन्ने सिद्धान्त सधैँ कायम रहनुपर्छ ।”
उनको सन्देशमा आजको विश्वव्यवस्था, आर्थिक मन्दी र नेपालजस्ता विकासोन्मुख राष्ट्रको आत्मनिर्भरतातर्फ ध्यान दिनुपर्ने आवश्यकता पनि औल्याइएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया