Techie IT
Samayabaddha
बुधबार, ३ वैशाख, २०८२

निर्माणको अन्तिम चरणमा पुगेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम एक महिनादेखि ठप्प


काठमाडौँ, २ वैशाख । निर्माणको अन्तिम चरणमा पुगेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको काम एक महिनादेखि ठप्प छ । स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि चैत ३ गतेदेखि आयोजनाको कुनै पनि काम अगाडि बढ्न सकेको छैन । कात्तिकदेखि सो सुरुङमार्ग सञ्चालनको तयारी छ ।

यो आयोजनाका प्रमुख सञ्जय पन्थीले स्थानीयवासीले आयोजनासँग असम्बन्धित र अव्यावहारिक माग राख्दै सुरुङमार्ग निर्माण अवरुद्ध पारेको बताए । अवरोधका कारण आयोजनाको पूर्वी र पश्चिमी पोर्टल दुवैतिर काम अवरुद्ध भएको छ । आयोजनाको काम सुरु भएयता स्थानीयवासीले १२ पटकभन्दा बढी आयोजनाको काममा अवरोध पु¥याइसकेका छन् ।

उनले भने, “यसअघि स्थानीयसँग भएको सम्झौता अनुसार उनीहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने काम सुरु भइसकेको छ । कतिले क्षतिपूर्ति पाइसकेका छन् । तर फेरि नयाँ कुरा झिकी विभिन्न असान्दर्भिक माग राखी आयोजना ठप्प पारिएको छ ।” उनका अनुसार यसअघि सुरुङमाथिका विस्फोट गर्दै चर्किएको भनिएका सात वटा घरको मूल्याङ्कन भई नयाँघर निर्माणका लागि क्षतिपूर्ति दिने काम सुरु भइसकेको छ ।

स्थानीयले सुरुङमार्ग क्षेत्रमा खानेपानी निःशुल्क वितरण व्यवस्था हुनुपर्ने, सिँचाइका लागि दीर्घकालीन व्यवस्था गर्नुपर्ने, सुरुङमाथि परेका जग्गाको मुआब्जा दिनुपर्नेलगायतका माग गर्दै आयोजनाको काम ठप्प पारेका हुन् । सुरुङमार्ग क्षेत्रका बासिन्दालाई रोजगारीको सुनिश्चितता गर्नुपर्ने पनि उनीहरूको माग छ । अवरोधका कारण सुरुङमार्गकोे भुइँ ढलान, पहुँच सडक निर्माण, फ्लाइओभर निर्माण, पहिरो नियन्त्रणका लागि वालिङ (ल्यान्ड साइड प्रोटेक्सन) उठाउनेलगायतका काम अवरुद्ध छन् । आयोजना प्रमुख पन्थीले भने, “हामीले आयोजनाको काम सुरु गर्न स्थानीयवासीसँग छलफल गरी धेरै प्रयास ग¥यौँ तर केही लागेन । अब यस समस्या समाधान माथिल्लो तहबाट मात्र हुन सक्छ होला ।”

काम अवरुद्ध हुँदा जापानी कम्पनीको हाजमा एन्डो कर्पोरेसनले दैनिक ५० लाख रुपियाँ क्षतिपूर्ति माग गरेको छ । आयोजनामा १५ जना जापानीसहित तीन सय नेपाली कार्यरत छन् । सुरुङमार्गभित्र अक्सिजन, लाइट, भ्यान्टिलेसन, टेलिफोन, जेट पङ्खालगायतका संरचना जडान भइरहेको थियो । आयोजना अन्तर्गत अहिले तीन वटा अन्डरपास, चार वटा कल्भर्ट, तीन वटा पुल र एउटा ओभरपास र फ्लाइओभर गरी कुल १२ वटा संरचना निर्माण चरणमा छ । आयोजनाका प्रवक्ता रमेश कोइरालाका अनुसार काम अवरुद्ध हुनुअघि चौडाइ (क्यारिज–वे) साढे नौ मिटरको हुने यस सुरुङमार्गको बिचमा डेढ मिटर चौडाइको विभाजक (मेडियन) र आधा आधा मिटरको दुई वटा पेटी निर्माण भइरहेको छ । सुरुङमार्गको निर्माणमा अहिलेसम्मकै उच्चतम् प्रविधि प्रयोग भइरहेको छ ।

उनका अनुसार बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुखसम्म दुई किलोमिटर ३०७ मिटरमध्ये एक किलोमिटर ९९५ मिटर कालोपत्र भइसकेको छ । त्यसैगरी धादिङको सिस्नेखोलातर्फ ७२५ मिटरमध्ये ४५० मिटर पहुँच मार्ग निर्माण भइसकेको छ ।


क्याटेगोरी : पालिका

प्रतिक्रिया


ताजा अपडेट