Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

ओली र देउवाबीच डेढ घण्टासम्म गोप्य छलफल ! के भयो कुराकानी ?


काठमाडौं । सरकार परिवर्तनको हल्ला चलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति देउवा बीचको यो डेढ घण्टा छलफललाई राजनीतिक वृत्तमा महत्वको साथ हेरिएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता परिवर्तन हुने अभिव्यक्ति दिइरहेका बेला ओली–देउवा भेट भएको हो । कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकास शर्माले सरकारले राम्रो ढंगले काम गर्न नसकेको अभिव्यक्ति दिइरहेको बेला यो छलफलले कांग्रेसले अब सरकारको नेतृत्व चाहेको एकथरिको बुझाई छ । आजमात्रै महामन्त्री गगन थापाले प्रधानमन्त्रीको बेडसम्म विचौलिया पुगेको बताएका छन् । तर बालुवाटार स्रोतले भने दुई नेताबीचको यो भेटलाई नियमित छलफल भएको बताएको छ ।

‘संयुक्त सरकारका दुई नेताबीचको भेटघाट हुनु स्वभाविक नै हो । उहाँहरूबीच करिव एक घण्टा चलेको छलफलमा सरकारलाई थप कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको’, स्रोतले बतायो ।

पछिल्लो समय सरकार परिवर्तनको हल्ला प्रचण्डको छटपटी मात्र भएको बालुवाटार स्रोतको दाबी छ । यद्यपि, सरकारको कार्यसम्पादनमाथि सत्ता गठबन्धनकै नेताहरूले प्रश्न भने उठाइरहेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले ३१ चैतमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै नयाँ सरकार बन्ने संकेत गरेका थिए । चितवनमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले नयाँ घटनाक्रम विकसित भएको र आफूले ‘नयाँ अनुभव’का आधारमा यो कुरा गरेको दाबीसमेत गरेका थिए ।

त्यसअघि प्रचण्डले एक टेलिभिजन अन्तर्वार्तामा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नसक्ने संकेत गरेका थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट